विराटनगरमा हुने भनिएको कक्षा ११ को परीक्षा स्थगित

कक्षा ११ को परीक्षा नै अनावश्यक, नपढाएको शुल्क लिन पाइन्नः महानगर प्रमुख पराजुली

विराटनगर । कोरोना भाइरसको संक्रमण बढिरहेको बेला विराटनगरमा असोज २५ गतेबाट सञ्चालन गर्ने तय भएको कक्षा ११ को परीक्षा स्थगित हुने भएको छ ।

सरकारले विद्यालय तत्काल नखोल्न दिएको निर्देशन अवज्ञा गर्दै विराटनगर महानगरपालिकाले परीक्षा लिने तयारी गरेकोमा स्थगित हुने भएको हो ।

कोरोना संक्रमण बढिरहेको बेला चाडपर्वको मुखमा  शुल्क असुल्नकै लागि मात्र परीक्षा लिने तयारी भएको  अभिभावक र विद्यार्थीको गुनासोसहितको समाचार हाम्रोमतले प्रकाशित गरेको थियो । सरकारले माघसम्ममा परीक्षा लिन निर्देशन दिएको भएपनि तत्काल परीक्षा लिने तयारी गर्दा थप जोखिम बढाउने भन्दै अभिभाक र विद्यार्थीहरु आक्रोशित थिए ।

विद्यार्थीहरुले परीक्षा स्थगित गर्न माग गर्दै सोमबार  विराटनगर महानगरपालिकामा धर्ना दिएका थिए भने अभिभाकहरु अदालत जाने तयारीमा थिए । माघसम्म लिनसकिने परीक्षा शुल्क असुल्नकै लागि जोखिमपूर्ण रुपमा सञ्चालन गर्न लागिएको भन्दै चौतर्फी विरोध भएपछि जिल्ला प्रशासन कार्यालय कार्यालय मोरङमा सोमबार बसेको सर्बपक्षीय बैठकले परीक्षा स्थगित गर्ने सहमति गरेको हो ।

परीक्षा स्थगित सम्बन्धि निर्णय भने जिल्लास्तरीय क्राइसिस मेनेजमेन्ट कमिटिको बैठकबाट हुने प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिनुभयो । ‘आजको छलफलमा तत्काल विराटनगरमा परीक्षा सञ्चालन गर्ने अवस्था छैन भन्ने निश्कर्षमा हामी पुगेका छौं’ प्रजिअ निरौलाले भन्नुभयो, ‘कोरोनाको संक्रमण बढिरहेको बेला परीक्षा लिन उपयुक्त नहुने आजको छलफलको सहमतिलाई डिसिएमसीमा पेश गरेर निर्णय गरिनेछ ।’

परीक्षा गर्न नसकिने अवस्था हुँदाहुँदै परीक्षाको तालिका सार्वजनिक भएका कारण विद्यार्थीहरु अन्यौलमा परेकोले सबैको सहमतिमा परीक्षा स्थगित गर्ने तयारी गरेको प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा पनि सरोकारवालाहरुले महानगरपालिकाबाट एकतर्फी रुपमा परीक्षाको कार्यक्रम सार्वजनिक गरिएकोप्रति विरोध जनाएका थिए । उनीहरुले विराटनगरमा कोरोनाको महामारी नियन्त्रणमा नआइकन महानगरप्रमुख भीम पराजुलीले आफुखुसी निर्णय गरेको भन्दै विरोध जनाएका थिए ।

बढ्दो कोरोना महामारीमा प्रदेश १ कै उच्च संक्रमण दर रहेको विराटनगरमा महानगरपालिकाले असोज २५ देखि कार्तिक ३ गतेसम्म परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो । निजी विद्यालयहरुले शुल्क असुल गर्नकै लागि परीक्षा लिने वातावरण बनाउन महानगरलाई दबाब दिएको अभिभावकको आरोप छ । आफैं विद्यालय सञ्चालक रहेका महानगर प्रमुख त्यसकै प्रभाबमा परेर परीक्षा लिने निर्णय गरेको आरोप विद्यार्थीले लगाउँदै आएका छन् ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भने कक्षा ११ को परीक्षा आवश्यक नरहेको भन्दै कक्षा १२ को परीक्षा लिनुपर्नेमा सरकारले गलत निर्देशन दिएको बताउनुभयो । सरकारको निर्देशन अनुसार परीक्षा लिने तयारी गरेको भएपनि विद्यार्थीको मनोविज्ञान अनुसार जोखिम भएमा जबरजस्ती परीक्षा लिने पक्षमा महानगर नभएको उहाँको भनाइ छ ।

शुल्क लिनको लागि परीक्षा लिन लागेको आरोप अस्वीकार गर्दै प्रमुख पराजुलीले परीक्षाको चैतदेखि असोजसम्मको शुल्क कुनैपनि विद्यालयले लिन नपाउने बताउनुभयो । ‘चैत अगाडिको र असोज लागेपछि बैकल्पिक बिधिबाट कक्षा सञ्चालन गरेको भएमात्र शुल्क लिन पाउनेछन्’ प्रमुख पराजुलीले भन्नुभयो, ‘कक्षा ११ को परीक्षा आवश्यक छैन भने मेरो मत हो, बरु उच्च शिक्षा अध्ययनको लागि १२ को परीक्षा सञ्चालनको व्यवस्था मिलाउनुपर्छ ।’ कक्षा १२ को परीक्षा नहुँदा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी समस्यामा परेको पराजुलीले बताउनुभयो ।

निजि क्षेत्रका विद्यालयहरुको संस्था हिसान मोरङका अध्यक्ष राजेश कार्कीले जनजीवन सामान्य बन्दै गएकोले परीक्षाको तयारी गरिएको बताउनुभयो । विराटनगरमा सुरु भएपछि बिस्तारै अन्यत्र पनि परीक्षा सञ्चालन हुने उहाँको भनाई छ ।

माध्यमिक कक्षाको ११ र १२ अध्यापन हुने विराटनगरमा ३७ वटा विद्यालयमध्ये २६ वटा निजी विद्यालय छन् । ती विद्यालयमा करिब ८ हजार विद्यार्थी अध्यनरत रहेको बताइएको छ ।

सोमबार, १२ असोज, २०७७, साँझको ०६:१३ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर