कोरोना महामारीबीच विराटनगरमा कक्षा ११ को परीक्षा लिने तयारी

चाडपर्वको मुखमा शुल्क असुल्नकै लागि मात्र परीक्षा लिन लागेको भन्दै अभिभावकको आक्रोश

विराटनगर । कोरोना संक्रमण बढिरहेको बेला विराटनगर महानगरपालिकाले कक्षा ११ को परीक्षा तालिका सार्वजनिक गरेपछि विद्यार्थी र अभिभावकहरु अन्यौलमा परेका छन् ।

कोरोना संक्रमण दिनहुँ बढिरहेको भन्दै शिक्षा मन्त्रालयले तत्काल विद्यालय सञ्चालन गर्ने अनुमति नदिएपनि निजी विद्यालयको दबाबमा शुल्क असुल्नकै लागि परीक्षा सञ्चालनको तयारी भएको भन्दै अभिभावकहरुले आक्रोश व्यक्त गरको छन् ।

शिक्षा मन्त्रालयले माघ महिनासम्म कक्षा ११ को परीक्षा सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोरोनाको संक्रमण कम नभएकोले विद्यालय सञ्चालन नगर्न आग्रह गरिरहनुभएको छ । तर, यो अवस्थामा परीक्षा लिने सूचनाले आतङ्क फैलाएको अभिभावक राजु दाहालले बताउनुभयो ।

विराटनगरमा कोरोना संक्रमण दैनिक बढिरहेको बेला परीक्षा लिने हतारो गर्न नहुने भन्दै अभिभावकहरुले त्यसविरुद्ध अदालतको ढोका घच्घच्याउने तयारी गरेका छन् । विराटनगरबाहेक कुनैपनि स्थानीय तहले परीक्षाको तयारी नगरेको बेला विराटनगरमा भने महानगरपालिकाले परीक्षाको सुचना निकाल्नु गलत भएको उनीहरुको भनाई छ ।

विराटनगरभित्रका २७ वटा विद्यालयमा असोज २५ गतेबाट कार्तिक ३ गतेसम्म परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्ने गरी निर्देशिका जारी गरेको छ । त्यही अनुसार महानगरभित्रका विद्यालयमा परीक्षा सञ्चालनको तयारी भएको हो ।

कक्षा ११ को परीक्षा सञ्चालन गर्न विद्यालयहरुले महानगरपालिकालाई समन्वय गरिदिन आग्रह गरेपछि महानगरले समन्वय मात्र गरेको महानगरको शिक्षा शाखा प्रमुख दुर्गा खतिवडाले बताउनुभएको छ । ‘सरकारले जारी गरेको निर्देशनकै परिधिमा रहेर परीक्षा सञ्चालनको तालिका सार्वजनिक गरिएको हो,’ खतिवडाले भन्नुभयो ‘माघ महिनामा कक्षा ११ को परीक्षा लिँदा एउटै कक्षामा नयाँ र पुराना विद्यार्थीहरु राख्नुपर्ने समस्या आउने भएकोले परीक्षा सञ्चालनको तयारी गरिएको हो ।’ परीक्षा सञ्चालन गर्दा स्वास्थ्य सम्बन्धी सबै मापदण्ड पुरा गर्ने, एउटा कक्षामा १८ जनाभन्दा बढी विद्यार्थी नराख्ने तयारी गरेकोले परीक्षा सञ्चालन गर्दा समस्या नहुने खतिवडाले बताउनुभयो ।

शैक्षिक केन्द्रको रुपमा रहेको विराटनगरमा सिराहा, सप्तरी लगायत पहाडी जिल्लाका धेरै विद्यार्थी पढ्नका लागि आउने गरेका छन् । परीक्षाको लागि आउन लागेका विद्यार्थीहरुलाई घरधनीले डेरामा नआउने भन्ने गरेको समस्या भइरहेको एक विद्यार्थीले बताए ।

परीक्षाको तयारीप्रति साझा युवा फोरमले पनि आपत्ती जनाएको छ । समुदाय स्तरमै बढ्दै गएको कोरोना संक्रमणलाई मध्यनजर नगरी कुनै एक शैक्षिक संस्थालाई मात्र मध्यनजर गरेर कक्षा ११ को परीक्षा तालिका सार्वजनिक गरेको भन्दै साझा युवा फोरमका प्रदेश संयोजक सरोज नेपालले विज्ञप्तिमार्फत विरोध जनाउनुभएको छ ।

कोरोना नियन्त्रणमा संघीय सरकारले पर्याप्त सहयोग नगरेको आरोप लगाउने विराटनगर महानगरपालिकाले संघीय सरकारले विद्यालय नखोल्न भन्दाभन्दै परीक्षा लिने तयारी गर्नु गलत रहेको साझाको भनाइ छ । विद्यार्थी र अविभावकको मनोविज्ञान नबुझी सञ्चालन गर्ने तयारी गर्नु अनुचुति रहेको भन्दै परीक्षा नियन्त्रण कार्यालयले परीक्षा अहिले लिनुपर्ने बाध्यात्मक व्यवस्था नगरेको अवस्थामा परीक्षा स्थगित गर्नुपर्ने संगठनले माग गरेको छ ।

महानगरभित्र परीक्षाको तयारी भइहरेको बेला आदर्श माध्यामिक विद्यालय र डिएभी बोर्डिङ स्कूलको होल्डिङ एरिया पनि हटेको छैन । यो बेला कोरोनाको थलिएका अभिभावकसँग चाडपर्वको मुखमा शुल्क असुल्ने नियतले मात्र परीक्षा लिन हतार गरेको भनाई अभिभावकको छ । ‘चाडपर्वको मुखमा विद्यार्थीलाई चेपुवामा पारेर विद्यालयहरुले शुल्क लिनकै लागि माघसम्ममा लिँदा हुने परीक्षा अहिले नै लिन लागेको देखिन्छ’ अभिभावक दाहालले भन्नुभयो ।

विराटनगर महानगरपालिका प्रमुख आफैं विद्यालय सञ्चालक रहेकोले शुल्क उठाउन मात्र परीक्षाको सूचना गरिएको अभिभावकहरुको आक्रोश छ । ‘चाडपर्व नजिक आएको बेला विद्यार्थीलाई जबरजस्ती परीक्षामा सहभागी गराउनु गलत काम हो’ एक अभिभावकले भन्नुभयो, ‘विराटनगर महानगरपालिका प्रमुख आफैं विद्यालय सञ्चालक रहेकोले शुल्क उठाउन मात्र परीक्षाको तयारी गरेर संक्रमण फैलाउने तयारी भएकोले हाम्रो विरोध छ ।’

विराटनगरमा धेरै विद्यार्थी सिरहा र सप्तरीबाट आएर अध्ययन गर्ने गरेका छन् । उनीहरुलाई अहिले विराटनगर आएर परीक्षामा सहभागी हुन पनि सहज छैन । एकातिर घरबेटी नआउन भनिरहेको र अर्कोतिर संक्रमण फैलिएमा त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न रहेको अभिभाकहरुको भनाई छ ।

विराटनगर महागनरपालिकाभित्र परीक्षा सञ्चालन गर्ने बिषयमा महागनरको शिक्षा शाखाले प्रमुख जिल्ला अधिकारीसँग पनि समन्वय गरेको जनाएको छ । ‘परीक्षा सञ्चालन गर्नुपर्ने अवस्थाको बारेमा मैले सिडिओमा जानकारी गराएँ,’ खतिवडाले भन्नुभयो ‘उहाँले निर्देशिका जसरी आएको छ सोही अनुसार कार्यान्वयन गर्नु भन्नुभएकोले पनि हामीले परीक्षाका लागि समन्वय गरेका हौं ।’

अभिभावकहरुले परीक्षाको कारण विद्यार्थीमा कोरोना संक्रमण फैलिएमा कसले जिम्मा लिने भन्ने प्रश्न गरेका छन् । महानगरको शिक्षा शाखा प्रमुख खतिवडा भने हजारौं विद्यार्थी घरमा बसिरहेको बेला पनि अभिभावक काममा निस्किरहेकोले परीक्षा दिन गएकै कारण संक्रमित हुन्छन् भनेर सोच्नु गलत हुने जिकिर गर्नुभएको छ ।

उच्च माध्यमिक विद्यालयहरुको संस्था हिसान मोरङका अध्यक्ष राजेश कार्कीले जनजीवन सामान्य बन्दै गएकोले परीक्षाको तयारी गरिएको बताउनुभयो । विराटनगरमा मात्र परीक्षाको तयारी भएकोबारे सोधिएको प्रश्नमा उहाँले विराटनगरमा सुरु भएपछि बिस्तारै अन्यत्र पनि परीक्षा सञ्चालन हुने जानकारी दिनुभएको छ ।

सोमबार, १२ असोज, २०७७, बिहानको ०८:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर