प्रदेश सरकारको विरोध संघीयता विरोधीको कुतर्क मात्रः मुख्यमन्त्री राई

विराटनगर । मुख्यमन्त्री शेरधन राईले संघीयता विरोधीहरुले प्रदेश सरकार आवश्यक छैन भन्ने कुतर्क गर्ने गरेको बताउनुभएको छ ।

संविधान दिवसको पुर्वसन्ध्यामा शुक्रबार आफ्नै कार्यकक्षमा पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री राईले प्रदेशको आवश्यकता संघीयता कार्यान्वयनमा अपरिहार्य भईसकेको बताउनुभयो ।

संघीयताको नौलो र मौलिक मोडल अन्तर्गत तीन तहका सरकारमध्ये प्रदेश सरकारको औचित्य नदेख्नु कुतर्क रहेको मुख्यमन्त्री राईले बताउनुभयो । संघीयता बुझ्दै नबुझ्ने, बुझेर पनि बुझ पचाउनेहरु र संघीयता मन नपराउनेहरुले अनावश्यक हल्ला गरिरहेको उहाँको दावी छ । संघ र स्थानीय तह मात्रैले देश अगाडि बढ्न नसक्ने भएकाले जनताको माग अनुसार नै तीन तहको सरकार निर्माण गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

संविधान जारीपछि र संघीयता कार्यान्वयनको अढाई वर्षको अवधिमा नागरिकले तीन तहको सरकारको अनुभुति गरिसकेकोले संविधानको भावना र मर्म सहि रहेको बुझ्नुपर्नेमा मुख्यमन्त्री राईले जोड दिनुभयो । नागरिकले महशुस गर्नसक्ने कामहरुको सुरुवात गरेर प्रदेश सरकारले तीन तहका सरकारमध्ये बढी आवश्यक संरचनाको रुपमा स्थापित गराईसकेको उहाँको भनाई थियो । उहाँले तीन तहका सरकारमध्ये प्रदेश सरकारको आवश्यकता र औचित्य पुष्टि भईसकेपनि संघ र प्रदेशबीच समन्वय अभावका कारण सोचेजति काम अगाडि बढाउन भने नसकेको बताउनुभयो ।

संघ, प्रदेश र स्थानीय तहले नागरिकका अधिकार स्थापित गर्ने कुरालाई नै जोड दिदाँ मात्रै आन्दोलनले स्थापित गरेको नाराले सार्थकता पाउने मुख्यमन्त्री राईको विश्वास छ ।

शुक्रबार, ०२ असोज, २०७७, साँझको ०७:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर