विराटनगर । विराटनगरमा संगठित रूपमा अपराधको सञ्जाल विस्तार गरेर व्यापारीलाई ज्यान मार्ने धम्की दिँदै लाखौं रूपैयाँ असुली गर्ने गिरोहलाई पेस्तोल र गोली उपलब्ध गराउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ प्रहरीले पेस्तोल बिक्री गर्ने विराटनगर– १२ का २६ वर्षीय विकास महतोलाई पक्राउ गरेको जनाएको हो ।
प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको अपराधिक गिरोहलाई महतोले १ लाख रूपैयाँमा अटोमेटिकल पेस्तोल र त्यसमा लाग्ने ६ थान गोली उपलब्ध गराएका थिए । उनले संगठित रूपमा आपराधिक समूह स्थापना गरी विराटनगरलाई आपराधिक कार्यको स्थल बनाई व्यापारीसित रकम असुल्ने गिरोहका मुख्य नाइके मोरङ कटहरी २ आदर्शनगरका २७ वर्षीय अभिषेक रायलाई पेस्तोल र गोली बेचेका हुन् ।
पक्राउ परेका महतोलाई म्याद थप गरि अनुसन्धान सुरू गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो । गुट्खा, चालम, तेलको डिलर संचालन गर्ने विराटनगरका व्यापारीलाई २५ असारमा ज्यान मार्ने धम्की दिएर १० लाख रुपैयाँ सो समूहले चन्दा मागेकोमा व्यापारीले दुई पटक गरि ५ लाख रुपैयाँ दिएका थिए ।
व्यापारीबाट रकम असुलेपछि गिरोहका मुख्य नाइके अभिषेकले पेस्तोल उपलब्ध गराउने मेहतालाई १ लाख रुपैयाँ दिएको अनुसन्धानबाट खुलेको छ । पेस्तोल र गोली विराटनगरको कोशी प्रोजेक्टबाट उनले लिएका थिए । ६ राउण्ड गोली खरिद गरेर ल्याएकोमा तीन राउण्ड गोली व्यापारीले सुरुमा रकम नदिएपछि उनलाई तर्साउन उनीहरुले पड्काएका थिए । घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार व्यापारीको घरको पर्खालमा पेस्तोलबाट चलेको गोलीको दाग भेटिएको छ ।
प्रहरीले अहिले बरामद भएको पेस्तोल र गोली तथा यसअघि फेला परेको खोका परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाउने भएको छ । विराटनगरका दुई जना व्यापारीलाई ज्यान मार्ने धम्की दिँदै रकम असुल्ने समूहमा आबद्ध कटहरी गाउँपालिका–२ आर्दशनगरका २६ वर्षीय किसन साह, सोही ठाउँका २८ वर्षीय एलेक्स भन्ने रविन शर्मा, २७ वर्षीय अभिषेक राय, सप्तरी बोदेबसाईन नगरपालिका ८ बस्ने २७ वर्षीय नन्दु भन्ने नन्दकिशोर साह र भारतको बिहार राज्य सितामणी जिल्ला घर भइ विराटनगर जलजला मोडस्थित चाइना बजारमा कपडा पसलमा काम गर्ने २७ वर्षीय राजुकुमार साहलाई प्रहरीले पक्राउ गरिसकेको छ ।