नेकपा सचिवालय बैठक सुरुः राष्ट्रियसभामा को ?

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको छ ।

बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो ३ बजेपछि सुरु भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

गत भदौ १३ गतेका लागि तय भएको बैठक अध्यक्षद्वय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपछि बिहीबारको लागि सारिएको थियो । बैठकमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने तय भएपनि आजको मुख्य एजेण्डा राष्ट्रियसभाको सदस्य मनोनयन हुने देखिएको छ ।

राष्ट्रियसभाको रिक्त एकजना मनोनित सदस्यमा अर्थमन्त्री युवराज खतिवडालाई लैजाने प्रधानमन्त्रीको प्रयास भएपनि अधिकांश सचिबालय सदस्य त्यसविरुद्ध छन् । उपाध्यक्ष बामदेव गौतमले यसअघि सचिबालय बैठकले आफूलाई राष्ट्रियसभामा लैजानेगरी गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने माग गरेपछि ओली समस्यामा परेको बताइएको छ ।

खतिवडाको पक्षमा अर्का अध्यक्ष प्रचण्डसहितका नेताहरुलाई मनाउने प्रधानमन्त्रीको प्रयास सफल नभएकोले त्यसबारे सचिबालय बैठकले नै ठोस निर्णय गर्ने नेताहरुले बताएका छन् । सचिबालयमा खतिवडाको पक्षमा प्रधानमन्त्री र उपप्रधानमन्त्री ईश्वर पोखरेल मात्र रहेको बताइएको छ ।

नेकपाले खतिवडालाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णय नगरेमा उनी शनिबार अर्थमन्त्रीबाट विदा हुनेछन् ।

बिहिबार, १८ भदौ, २०७७, दिउँसोको ०३:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर