नेकपा सचिवालय बैठक ३ बजे बस्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज दिउँसो ३ बजे बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठक चार घण्टा पछि सरेको हो ।

नेकपाको आजको बैठकमा राष्ट्रिय सभामा मनोनित गर्ने सदस्यबारे छलफल हुनेछ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा डा. युवराज खतिवडालाई नै दोहोर्याउन चाहेको बताइएको छ । यद्यपि ओली इतर समूहले भने बामदेब गौतमलाई राष्ट्रियसभामा लाने यसअघिको पार्टी सचिवालय बैठकको निर्णय कार्यान्वयनमा जोड दिएको छ ।

यसबारे बुधबार (हिंजो) प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो । प्रचण्डले पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्ने बताएपछि सोही दिन राति ओलीले गौतमलाई बालुवाटारमा बोलाएर छुट्टै छलफल गर्नुभएको थियो । आजको नेकपाको बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय गरे वर्तमान अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मन्त्री पदबाट हात धुनुपर्नेछ । जसको कारण पनि आजको बैठकलाई महत्वका साथ हेरिएको छ ।

बिहिबार, १८ भदौ, २०७७, दिउँसोको १२:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर