बागलुङ बाढीः बेपत्ता ३६ मध्ये ११ जनाको शव फेला

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङ खोलामा बाढी आउँदा बगाएकामध्ये ११ जनाको शव फेला परेको छ । घटनास्थलमा फेला परेका कसैको पनि पहिचान हुन सकेको छैन ।

बुर्तिबाङ्गका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रकाशसिंह भण्डारीले ११ जनाको शव फेला परेको जानकारी दिनुभयो । जसमा ८ पुरुष र ३ महिला रहेका छन् ।

बाढीमा परी ३६ जना बेपत्ता भएको इन्सपेक्टर भण्डारीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘झन्डै ५० देखि ५५ घर बगाएको छ ।’ सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो ।

अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा बाढी आएको हो । ढोरपाटन नगरपालिकाको दुवालदेखि घट्टेचौर, सुप्राङ्ग, भुसान्दे, दुनेपडेरा, सुकेलदुम, लाकुरेबोट, मङ्गलाटोलसहित खोला किनारका सबै बस्ती बगरमा परिणत भएको छ ।

बिहान ४ बजेदेखि हिँडेको टोली हालसम्म पनि घटनास्थल पुग्न सकेको छैन । इन्सपेक्टर भण्डारीले भन्नुभयो, ‘घटनास्थलमा पुग्न अझै ३० मिनेट पैदल हिँड्नुपर्छ । गाडी जान सक्दैन ।’

नेपाली सेना र सशस्त्र प्रहरीको टोलीसमेत घटनास्थल पुग्दैछ । पहिरोमा बेपत्ता भएकामध्ये १३ जनाको परिचय खुलेको छ । ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ बोबाङका ठाउँठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्क विहिन भएका थिए ।

– रातोपाटी साभार

बिहिबार, १८ भदौ, २०७७, दिउँसोको १२:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर