दमक । शिवसताक्षी नगरपालिकास्थित बजारबाट एक किलोमिटर उत्तर रतुवामाई वृक्षरोपण आयोजनाको जंगलमा एक जना पुरुषको शव भेटिएको छ ।
घाँटी काटिएको अवस्थामा स्थानीय २८ वर्षीय गोमनसिंह भनिने गोविन मगरको शव जंगलमा भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार मगरको शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ । प्रारम्भिक जाँचमा घाँटी काटिएको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मगर वैदेशिक रोजगकारीका लागि बहराइन गएर केही महिनाअघि फर्किएका थिए । मंगलबार साँझ साढे ६ बजे घरबाट निस्किएका उनको शव भेटिएको नजिकै एउटा मोटरसाइकल पनि बरामद भएको छ । मोटरसाईकल कसको हो भन्ने खुलेको छैन ।
घटनाको अनुसन्धानको लागि संघीय प्रहरी इकाइ कार्यालय, धरानबाट कुकुर बोलाइएको छ । घटनाको अनुसन्धानमा सहयोग गर्न १ नं। प्रदेश प्रहरी कार्यालयबाट पनि एउटा टोली शिवसताक्षीमा पुगेको छ ।