विर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका ७ मा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।

मंगलबार राति १० बजे घरमाथिबाट खसेको पहिरोमा पुरिएर १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको हो ।

घटनामा ७७ वर्षीया तिलमाया बराईली, २१ वर्षीया कल्पना बराईली र १९ वर्षीया पृष्टिना बराईली घाईते भएका छन् । घाईतेहरुको स्थानीय मेडिकलमा उपचार भईरहेको छ ।

मामाघर पाउना आएका मेचीनगर ९ मागुरमाडीका दर्नालको पहिरोले घर भत्काउँदा मृत्यु भएको हो । पहिरो झर्दा घरमा ७ जना रहेका थिए । अरु गहिरो निन्द्रामा नपरेकाले घर लच्किन सुरु हुनेबित्तिकै निस्किन भ्याएका थिए । मृतक दर्नाल गहिरो निन्द्रामा भएका कारण पनि उनलाई जोगाउन नसकिएको स्थानीयले बताएका छन् ।

पहिरोले तेजकुमार बराईलीको घर पूर्ण रुपमा क्षति भएको तथा नजिकै रहेका २ घर उच्च जोखिममा रहेको कारण २ घर परिवारका मानिसलाई नजिकै रहेको चर्चमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।