सिरहा । सिरहाको लहान नगरपालिका–१ का एक युवकको एक हजार रुपैयाँ फिर्ता नगरेको आरोपमा अपहरणपश्चात् हत्या भएको छ ।
लहान नगरपालिका–१ निवासी २७ वर्षीय रोशन रामको अपहरण गरी हत्या गरेको आरोपमा सिरहाको मिर्चैया नगरपालिका–२ निवासी मुकेश कटवाल र जयकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध मुद्दामा अदालतबाट धरौटी तिरेर रिहा भएका रामको शव गत बुधबार सिरहाको मिर्चैया नगरपालिकास्थित बतहा खोला नजिकै शव फेला परेको थियो । रामको शव रहेको शुक्रबार मात्रै पहिचान भएको थियो ।
गत असार २७ मा जेलमा सँगै बसेका साथीसँगै घरबाट गएका रामको शव फेला परेपछि परिवारले हत्या आशङ्का गरेपछि घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तु जयसवालले जानकारी दिनुभयो । जेलमा बसेका बेला साथीसँग लिएको सापटी बापतको एक हजार रुपैयाँ समयमा फिर्ता नगर्दा आफ्नो छोराले ज्यान गुमाएको परिवारले जनाएको छ ।
लकडाउनको समयमा रोशन लागुऔषधसहित वैशाखको अन्तिम साता लक्ष्मीपुर पतारीबाट पक्राउ परेका थिए । पक्राउ परेका उनी अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि जेल चलान भएका थिए ।
जेलमा रामको भेट लागुऔषध मुद्दामै कारागारमा रहेका मिर्चैया नगरपालिका–२ निवासी जयकुमार यादवसँग चिनजान भएको थियो । कारागारमै यादवसँग रामले एक हजार रुपैयाँ ऋण लिएको र त्यो समयमा फिर्ता नदिएकाले आफ्नो छोराको हत्या भएको मृतकका पिता सिफैतको भनाइ छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।