हालसम्म कोरोनामुक्त भएर सात जना घर फर्किए

विराटनगर । नेपालमा बुधबार थप २ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

यसअघि ५ जना संक्रमित निको भएर घर फर्किएकोमा यो संख्या सात पुगेको छ । बुधबारसम्म जम्मा संक्रमितको संख्या ४५ रहेको छ ।

बुधबार सेती अस्पताल धनगढीबाट एक ४० वर्षीय पुरुष र काठमाडौंको टेकु अस्पतालबाट ३४ वर्षीय पुरुष डिस्चार्ज भएका छन् । सेती अस्पतालबाट डिस्चार्ज हुने नवौं कोरोना संक्रमित हुन्। उनी चैत १३ गते भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाको सल्ली भन्ने स्थानबाट कञ्चनपुरको ब्रम्हदेवको बाटो हुँदै लुकेर नेपाल पसेका थिए। चैत २१ गते उनको थ्रोट स्वावको नमूना परीक्षण गर्दा पोजेटिभ आएको थियो ।

टेकु अस्पतालबाट डिस्चार्ज हुनेमा तेस्रो कोरोना संक्रमित हुन्।धादिङ ३२ वर्षीय ती पुरुष चैत ६ गते यूएईबाट एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट त्रिभुवन विमानस्थलमा उत्रिएका थिए। चैत्र १२ गते उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो।

दुवैजनाको कोरोना परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि काठमाडौंस्थित टेकु अस्पतालबाट १९ वर्षीया युवती, बागलुङ हस्पिटलमा ६५ वर्षीया महिला, धनगढीको सेती प्रादेशिक अस्पतालबाट १९ र ३२ वर्षीय युवा निको भएर डिस्चार्ज भइसकेका छन्।

सुदुरपश्चिमका संक्रमितमध्ये कैलालीको लम्की चुहा नगरपालिकाका २१ वर्षीय राज बिक र धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय अमृत शाहीलाई यसअघि नै अस्पतालले डिस्चार्ज गरिसकेको छ। अब सुदूरपश्चिमका ४ संक्रमित मध्ये एकजना महिलाको मात्रै उपचाररत छन् ।

कोरोना भाइरसको हालसम्म ४० हजार ४३१ जनाको प्रयोगशाला परीक्षण भएको छ । पिसिआर विधिबाट नौ हजार ११ र ¥यापिड डायग्नेस्टिक टेस्ट प्रविधिबाट परीक्षण गर्नेको सङ्ख्या ३१ हजार ४२० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

मन्त्रालयमा आज आयोजित नियमित पत्रकार भेटघाटमा पछिल्लो २४ घण्टामा तीन हजार ७३६ नयाँ प्रयोगशाला परीक्षण भएको जानकारी दिइयो । क्वारेन्टाइनमा रहने व्यक्तिको सङ्ख्या हालसम्म आठ हजार ५९५ रहेको छ भने आइसोलेसनमा रहने सम्भावित सङ्क्रमितको सङ्ख्या ९५ जना रहेको छ । हाल कोभिड १९ को रेड जोनमा पर्नेको सङ्ख्या २६९ पुगेको छ ।

मन्त्रालयमा सञ्चालनमा रहेका कलसेन्टरमा गत २४ घण्टामा दुई हजार १४४ कल प्राप्त भएकोमा त्यसको सम्बोधन गरिएको जानकारी दिइयो ।

बुधबार, १० बैशाख, २०७७, साँझको ०६:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर