विराटनगर । प्रदेश नं. १ का विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालउ विराटनगरका अनुसार चट्याङ लागेर तीन जना र लडेर दुई जनाको मृत्यु भएको हो ।
संखुवासभाको पाँचखपन २ की ५२ बर्षीया डम्बर कुमारी राईको चट्याङले लागेर मृत्यु भएको छ । शनिबार राति ८ बजे घरको आँगनमा बसिरेहकी राईलाई बर्षासंगै आएको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ल प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
यसैगरी शनिबार साँझ बर्षासंगै आएको चट्याङले लागेर खोटाङको केपीलाशगढी १ का १५ वर्षीय राजमणी राई र ३५ वर्षीया निर्मला बिकको मृत्यु भएको छ । आ–आफ्नै घरमा बसिरहेका दुबैजानालाई चट्याङले लाग्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
उता ओखलढुङगाको खिजिदेम्बा ३ चण्डेश्वरी बस्ने ५२ वर्षीया अलोकमाया सुनुवारको लडेर मृत्यु भएको छ । आइतबार बिहान चण्डेश्वरी स्थित गोरेटो बाटोमा हिडिरहेको अवस्थामा एक्कासी ५० मिटर तल खसेर ढुंगामा ठोकिन पुग्दा अलोकमायाको घटनास्थलमै मृत भएको स्थानीयले प्रहरीमा जानकारी गराएका हुन् ।
घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई कानुनी कारबाही तथा घटना सम्बन्धमा अनुसन्धान भईरहेको रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।
यसैगरी पाँचथररको तुम्मेवा गाउँपालिका ५ हाङबुङमा निर्माणाधिन अवस्थामा रहेको पुलमा काम गर्दै आएका एक कामदारको ढुंगाले लागेर मृत्यु भएको छ । भारतको सिपोल जिल्ला शंकरापुर गाउँ पञ्चायत घर भई उक्त स्थानमा काम गर्दै आएका २४ बर्षीय नजिबुल महोमदको ढुंगाले लागेर मृत्यु भएको हो ।
दिनभरको काम सकेर खोला नजिकै टेन्ट टाँगेर सुतिरहेको अबस्थामा आइतबार बिहान भिरमाथीबाट एक्कासी ढुंगा झरेर लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय रवि पाँचथरबाट प्रहरी टोली खटिएर थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो ।

