विराटनगर । लकडाउनको कारणले बढ्दै गएको कालोबजारीलाई नियन्त्रण गर्न विराटनगर महानगरपालिकाले बजार अनुगमन गरेको छ ।
शनिबार महानगरपालिककी उप–प्रमुख इन्दिरा कार्कीको नेतृत्वमा खटिएको टोलीले बजार अनुगमन गरेको हो । महानगरले महङगोमा दैनिक उपभोग्य वस्तुहरु बिक्रि वितरण भइरहेको खबर पाई टोलीले विराटनगरको गुद्री बजारका खुद्रा तथा थोक तरकारी पसल, ग्याँस डिलर र किराना पसलको अनुगमन गरेको जनाएको छ । अनुगमनको क्रममा बजार क्षेत्रका अधिकांश किराना पसलहरुले मुल्यसुची, दररेट, साइनबोर्ड, व्यवसाय दर्ता, खरिद बिल र नापतौलको प्रमाण लगायतका मापदण्ड पुरा नगरी व्यापार सञ्चालन गरेको पाइएको विराटनगर महानगरपालिकाका प्रवक्ता राजेन्द्र प्रधानले बताउनुभयो । त्यस्ता किराना पसलहरुलाई उपभोक्ताले देखिने गरी आलु, प्याज, चामल र दाल लगायतका दैनिक उपभोग्य वस्तुको मुल्य सुची टाँस गर्ने, बढी मूल्यमा बिक्री वितरण नगर्ने, म्याद नाघेको वस्तु बिक्रि वितरण नगर्ने र पसलको दर्ता प्रक्रिया अगाडि बढाउने लगायतको निर्देशन दिईएको उप–प्रमुख इन्दिरा कार्कीले जानकारी दिनुभयो ।
त्यस्तै टोलीले विराटनगरको गुद्री बजार समेत अनुगमन गरेको छ । टोलीले गुद्री बजारका व्यापारीहरुलाई मूल्यसुची कायम गरी २० प्रतिशत मात्र मुनाफा लिई तरकारी बिक्रि वितरण गर्न निर्देशन दिएको छ । टोलीले गुद्री बजारका खुद्रा तथा थोक व्यापारीहरुलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन व्यवस्थित ढङ्गले धेरै भिडभाड नगरी सागसब्जी तथा फलफूल बिक्री वितरण गर्न आग्रह गर्दै बढी मूल्यमा बिक्रि वितरण भएको पाइएमा कानुन अनुसार कारबाही हुने चेतावनी समेत दिएको छ ।