सहकारी अनुसन्धानमा दोहोरो मापदण्ड : मोरङमा सञ्चालकलाई हाइसञ्चो, सुनसरीमा आफन्त पक्राउ

विराटनगर । मोरङमा सहकारीको रकम अपचलनमा मुछिएकी सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई पक्राउ गर्न चासो नदेखाएको प्रहरीले सुनसरीमा भने सहकारी सञ्चालकका परिवारलाई पक्राउ गरेको पाइएको छ ।

मोरङको धनपालथान गाउँपालिकामा रहेको उमागौरी सहकारी संस्थामा करोडौं अपचलन भएको भन्दै मोरङ जिल्ला अदालतमा मुद्दा दायर भइसक्दा कोइरालासहित सञ्चालकहरु फरार छन् । प्रहरीले अनुसन्धानको क्रममा पनि उनीहरुलाई पक्राउ गर्न चासो नदिई मुद्दा सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

त्यस्तै हो भने उमागौरी कृषि सहकारीका सञ्चालक अञ्जला कोइरालाको श्रीमान् ऋषिकेश पोखरेललाई पनि पक्राउ गर्नुपरो नि– अधिवक्ता लिलानाथ सुवेदी

कोइराला मात्र नभएर उमागौरी सहकारीका अध्यक्ष श्यामकुमार रौनियारसहितका सञ्चालकहरु पनि प्रहरीले सो प्रकरण अनुसन्धान गर्दा खुलेआम थिए । मुद्दा दर्ता भएर पक्राउ पुर्जी जारी भएपछि पनि प्रहरीले खोजी गर्न चासो देखाएको छैन । सहकारीका सञ्चालक अञ्जलाका श्रीमान ऋषिकेशले श्रीमती घरमै रहेको अन्तरवार्ता दिएका छन् । तर, प्रहरी उनको घरसम्म पुगेको छैन । उता सुनसरीमा भने सहकारीको रकम अपचलन गर्ने सञ्चालकहरु नभेटेपछि प्रहरीले परिवारका सदस्यहरु पक्राउ गरेको छ ।

सुनसरीको धरानस्थित बराह ग्रुप अफ कम्पनीमार्फत खुलेका सहकारी र कम्पनीमा सर्वसाधारणको १४ अर्ब रुपैयाँ बराबरको रकम संकटमा छ । सहकारीमा १३ हजार बढी सर्वसाधारणको झण्डै १४ अर्ब बढी रकम डुबेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । सुनसरी प्रहरी प्रवक्ता रामप्रसाद तिम्सिनाका अनुसार ३३३ जना पीडितले बचत फिर्ताको मागसहित प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।

प्रहरीले सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्मा र सदस्य गंगाबहादुर कालिकोटेलाई खोजी गरिरहेको जनाएको छ । विश्वकर्मा र कालिकोटे नभेटेपछि प्रहरीले मानबहादुरकी श्रीमती जतनमाया विश्वकर्मा र कालिकोटेकी श्रीमती सरिता कालिकोटेलाई पक्राउ गरेको छ । उनीहरु सहकारीको सञ्चालक वा व्यवस्थापक हैनन् भने सहकारीको कारोबारमा संलग्न रहेको पनि अहिलेसम्म देखिएको छैन ।

सहकारीका सदस्य नरहेका र कारोबार पनि नगरेका जतनमाया र सरितालाई पक्राउ गरेपछि सहकारीको अनुसन्धानमा नयाँ बहस सुरु भएको छ । श्रीमानहरु पक्राउ नपरिरहेको बेला आधार र प्रमाणबिना श्रीमती वा परिवारको अन्य सदस्य पक्राउ पर्ने हो भने अन्य प्रकरणमा किन यस्तो भएको छैन भन्ने प्रश्न उठेको छ । मोरङमा प्रहरीले ठगीमा संलग्न सहकारीका सञ्चालक पक्राउ गर्न चासो नदेखाउने तर, सुनसरीमा सञ्चालकका परिवार पक्राउ गर्नुको कारण के हो भन्ने प्रश्न कानुनविद्हरुले उठाएका छन् ।

‘मोरङमा सांसदले सहकारीको सञ्चालक आफ्नी श्रीमती लुकाउन सक्ने र स्कूलमा विदा थप्न सक्ने अनि सुनसरीमा श्रीमान्हरु सञ्चालक भएकै कारण श्रीमतीहरु पक्राउ पर्नुपर्ने अवस्था किन’ वरिष्ठ अधिवक्ता सुमनचन्द्र कार्की भन्छन्, ‘सुशासन कहाँ रहयो ? व्यक्तिले सुशासन कायम गर्ने होइन होला । राज्य भनेको त सबै पक्ष हो । सबैले मिलेर सुशासन कायम गर्नुपर्छ ।’

जतनमाया र सरितालाई बिनाआधार गैरकानूनी तरिकाले पक्राउ गरेको भन्दै धरान १७ का पवन विश्वकर्माले उच्च अदालत विराटनगरमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए । अदालतले पनि उक्त रिट खारेज गरिदिएको छ । पुस १६ गते दर्ता भएको रिटको सुनुवाई न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र कृपासुर कार्कीको संयुक्त इजलासले पुस १९ गते खारेज गरेको हो ।

रिटको पक्षमा बहस गरेका कानून व्यवसायीहरु अदालतले सहकारी ठगीमा सञ्चालकको परिवार पक्राउ गर्ने कुरालाई अदालतले पनि सहज बनाइदिएको बताउँछन् । यो प्रकरणले अञ्जला फरार हुँदा ऋषिकेश पोखरेललाई किन पक्राउ नगर्ने भन्ने प्रश्न उठेको उनीहरुको भनाइ छ ।

अधिवक्ता लिलानाथ सुवेदीले पक्राउ परेका जतनमाया र सरिताको कसुर के हो भन्ने प्रहरीले अदालतमा पनि खुलाउन नसकेको बताउँछन् । अदालतको बहसमा सुनसरी प्रहरीका प्रवक्ता रामप्रसाद तिम्सिनाले अनुसन्धानमा दोषी नदेखिए छोड्ने बताएको उनी बताउँछन् । ‘त्यस्तै हो भने उमागौरी कृषि सहकारीका सञ्चालक अञ्जला कोइरालाको श्रीमान् ऋषिकेश पोखरेललाई पनि पक्राउ गर्नुपरो नि । यसले उनीहरुलाई न्याय होला त’ सुवेदीले भने ।

अधिवक्ता जयराम सुन्दासले श्रीमान्को दोषमा श्रीमतीलाई पक्राउ गरेर हिरासतमा राख्न निमल्ने बताए । ‘परिवारको सदस्य भएकै हिसावले थुन्न पाइँदैन । तर, त्यही हिसावले गर्ने हो भने अन्यलाई किन छुट भन्ने प्रश्न उठेको छ’ उनले भने, ‘सुनसरीको प्रहरी र मोरङको प्रहरीले मान्ने कानुन त एउटै होला, उसो भए ऋषिकेश पोखरेललाई पक्राउ गर्नुपर्ने भयो ।’ कानून कार्यान्वयन गर्दा सबैको हकमा समान हिसावले गर्नुपर्नेमा कसैलाई एक ढंगले र कसैलाई अर्को ढंगले कानूनको प्रयोग गर्नु नहुने उनको भनाइ छ ।

सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले उनीहरुलाई पक्राउ गनुपर्ने आधार धरान उपमहानगरपालिकाले दिएको अध्ययन प्रतिवेदन र जाहेरी भएको बताए । जतनमाया र सरिता सहकारीको सञ्चालक भएको वा नभएको, कारोबारमा जोडिएको वा नजोडिएको विषयमा स्पष्ट नभएको उनले स्वीकार गरे ।

सुनसरीका प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिम्सिनाले उनीहरुको संलग्नता पुष्टि नभए हिरासतमुक्त गर्ने हचुवा जवाफ दिए । ‘हामीले के हो भनेर बुझिरहेका छौं । उहाँहरुको संलग्नता देखिएन भने छोड्न पनि सकिन्छ’ उनले भने, ‘उहाँहरु उहाँहरु सञ्चालक समितिमा नरहेको भएपनि आफन्त सञ्चालक समितिको अध्यक्ष भएकोले केही प्रभाव परेको हो कि भन्ने अनुसन्धान भइरहेको छ ।’

रिट निवेदनमा जतनमाया विश्वकर्मा शारिरीक रुपमा अस्वस्थ भएको र हालसम्म घरेलु कामबाहेक अन्य कुनै काम कारवाही नगरेको दाबी गरिएको थियो । यस्तै सरिता कालिकोटे पनि हालसम्म सहकारी, संस्थागत तथा अन्य कुनैपनि प्रकारको लेनदेनमा संलग्न नरहेको दाबी गरिएको छ ।

प्रहरीले उनीहरुलाई पुस १३ गते पक्राउ गरेको थियो । तर, अदालतबाट भने पुस १४ गते मात्रै पक्राउ पूर्जी जारी भएको थियो । पक्राउ गर्नुपर्ने आधार र कारणबिना नै थुनामा राख्नेगरी आदेश हुनुभन्दा अगाडि मानव अधिकार सम्बन्धि विश्वब्यापी धारणा राख्ने र कसुर उपरको अनुसन्धानमा प्रथमः प्रतिवादी कायम हुनसक्ने मान्य सिद्धान्त विपरित हुनेगरी प्रारम्भीक पक्राउ पुर्जी तथा पुर्जि प्राप्त भए पश्चात पनि बिपक्षी जिल्ला सरकारी वकिल कार्यालय सुनसरीबाट अनुसन्धानको लागी आवश्यक कानुनी प्रबन्धको बर्खिलाप गरेको निवेदनमा उल्लेख थियो ।

निवेदनमा कालिकोटे र विश्वकर्माको पत्नि नाताका भए बाहेक निजहरुको उक्त सहकारी संस्थासँग कुनैपनि प्रकारको सम्बद्धता, सहभागिता, संलग्नता र सरोकार नभएको र निजहरुले संस्थाको कुनैपनि दायित्व तिर्नु व्यहोर्नुपर्नेसमेत नरहेको उल्लेख गरिएको छ । बराह सहकारीको अनुसन्धानको क्रममा प्रहरीले सञ्चालक समितिका सदस्य विष्णु ताम्राकार, सहकारीका लेखापाल अपना श्रेष्ठ, ऋण उपसमिति सदस्य अस्मिता भण्डारी, लेखा सुपरिवेक्षण समिति संयोजक सुदिन ल्वागुन, शेरबहादुर महत क्षेत्री र रवि पोर्तेललाई पक्राउ गरेर हिरासतमा राखेको छ ।

मङ्गलबार, २३ पुष, २०८१, बिहानको ०७:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर