विराटनगर । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आफ्ना स्वकीय सचिव अनिल पोखरेल विरुद्ध तीन वर्ष अगाडि पार्टीमा आएको उजुरीलाई वेवास्ता गर्दै संरक्षण गरेको खुलेको छ ।
ऋषिकेश पोखरेल नेकपा एमाले मोरङको अध्यक्ष हुनसाथ अनिल पोखरेलले ठगी गरेको भन्दै पार्टी कार्यालयमा आएको उजुरीलाई पन्छाएर उनको संरक्षण गरिएको हो ।
अनिल पोखरेलले छोरीको नाम एमबीबीएसमा निकालिदिन्छु भन्दै लाखौं रुपैयाँ ठगेको भन्दै बौआलाल चौधरीले २०७८ पुस २७ गते नेकपा एमाले मोरङमा लिखित निवेदन दिएको पाइएको छ । विराटनगरमा श्रीमतीको नाममा रहेको जग्गा बेचेर पोखरेललाई पैसा दिएको तर, छोरीको नाम ननिस्किएपछि रकम फिर्ता माग्दा नदिएको भन्दै उनले नेकपा एमाले मोरङका अध्यक्षलाई सम्बोधन गरेर पत्र लेखेका थिए ।
चौधरीले एमाले पार्टी कार्यालयमा पत्र बुझाउँदा एमालेको अध्यक्ष ऋषिकेश नै थिए । उनी पछिल्लो समयमा २०७८ पुस २३ गते भएको अधिवेशनबाट एमाले मोरङको अध्यक्ष बनेका थिए । उनी अध्यक्ष भएको चार दिनपछि चौधरीले अनिल पोखरेलबाट ठगिएको भन्दै गुहार माग्दै एमालेमा पुगेको भएपनि उनको उजुरीको सुनुवाइ भएन ।
चौधरीले गरेको उजुरीको वेवास्ता गरेका ऋषिकेशले ठगीको आरोप लागेका अनिललाई एमाले मोरङको जिल्ला सदस्य मात्र बनाएनन्, आफ्नै स्वीय सचिवसमेत नियुक्त गरे । त्यसो त चौधरीले लिखित पत्र पार्टीमा बुझाउनु भन्दा अगाडि पनि एमाले पार्टी कार्यालय पाञ्चालीमा पटक–पटक पुगेर न्यायको माग गरेका थिए ।
नेकपा एमाले मोरङका तत्कालिन जिल्ला सदस्य वसिम आलमका अनुसार चौधरी मात्र नभएर पोखरेलबाट ठगिएको भन्दै धेरै व्यक्ति पार्टी कार्यालयमा आउने गरेका थिए । ‘एक जना कर्मचारी पोखरेलबाट लाखौं ठगिएको भन्दै पार्टी कार्यालयमा धेरैपटक आएको मलाई पनि सम्झना छ’ आलमले भने, ‘अन्य व्यक्तिहरु पनि पोखरेलबाट ठगिएको भन्दै पार्टी कार्यालयमा आउने गरेको भएपनि नेताहरुबाट संरक्षित भएकोले पोखरेलमाथि कार्वाही भएन ।’
एमाले स्रोतका अनुसार ठगिमा मुछिएका पोखरेल नेकपा एमालेको मोरङ–काठमाडौं सम्पर्क मञ्चका सचिव र अध्यक्ष रहिसकेका व्यक्ति हुन् । उनले चौधरीलाई ठगी गर्दा सम्पर्क मञ्चको नेतृत्वमा नै थिए । ‘त्यसबेला उजुरी आएपछि ऋषिकेश पोखरेलले यस्ता उजुरीको वास्ता गर्नुहुन्न, अनिल पार्टीको इमान्दार कार्यकर्ता हो भन्नुभएको थियो’, एमाले मोरङका एक सदस्यले त्यसबेलाको घटना स्मरण गरे, ‘ऋषिकेशकै संरक्षणमा रहेका अनिलले उनकै आडमा धेरैलाई ठगेको गुनासो पार्टीलाई पहिले नै जानकारी थियो ।’
बौआलालले पार्टीको जिल्ला इन्चार्ज, केन्द्रीय सदस्य र एमाले रंगेली नगर कमिटीलाई पनि अनिल पोखरलबाट ठगिएको पत्रको बोधार्थ दिएका थिए । तर पोखरेलबारे कतैबाट पनि सोधपुछ भएन । बरु उनी पार्टी जिल्ला सदस्य मात्र भएनन्, प्रदेशसभाको उम्मेदवार नै सिफारिस भए । प्रदेशसभाको टिकट नपाएपछि ऋषिकेशको स्वीकय सचिव भए ।
अनिलले लालबाबु पण्डित स्थानीय विकास मन्त्री हुँदा कर्मचारी सरुवको लागि रकम उठाएको खुलेको थियो । पैसा लिएर कर्मचारी सरुवा गर्न मन्त्रालय पुगेपछि मन्त्री पण्डितले हप्काएर पोखरेललाई फर्काएको एमाले स्रोत बताउँछ । शिवमायाँ तुम्बाहाम्फे भूमिसुधार मन्त्री भएको बेला पनि पोखरेलले विभिन्न व्यक्तिसँग सरुवा र नियुक्तिको लागि रकम लिएको आरोप छ ।
छोरीलाई एमबीबीएस पठाउन भन्दै ३८ लाख ८० हजार पोखरेललाई बुझाएका चौधरीले छोरीको नाम ननिस्किएपछि रकम फिर्ताको माग गर्दै धेरैतिर धाए । एमालेले उनको गुनासोको सुनुवाइ नगरेपछि उनी उजुरी बोकेर प्रहरी र सरकारी वकिलको कार्यालयमा पनि धाए । तर, राजनीतिक पहुँचको कारण पोखरेलविरुद्धको उजुरी प्रहरीले दर्ता गर्न मानेन ।
अनिललाई जोगाउन प्रहरीले पीडितको जाहेरी नै गायब बनाएको पनि खुलेको छ । प्रहरीले जाहेरी लिन नमानेपछि पीडित चौधरीले हुलाकबाट जाहेरी पठाएका थिए । सो जाहेरी १९ साउन ०७९ मा प्रहरीले हुलाक निर्देशनालय विराटनगरबाट प्राप्त पोस्टम्यान बुकबाट बुझेको प्रष्ट देखिन्छ । तर, प्रहरीले जाहेरी नआएको भन्दै अदालतलाई पनि झुटो जवाफ दिएको थियो ।
एमाले र प्रहरीले पनि आफ्नो उजुरीको सम्बोधन नगरेपछि चौधरीले अदालतको ढोका ढक्ढक्याएका थिए । उच्च अदालत विराटनगरले गत भदौमै प्रहरीलाई चौधरीको उजुरी दर्ता गर्न आदेश दिएको थियो । आदेशको पुस ११ गते प्रमाणिकरण भइसकेको छ ।
सप्तरी जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने चौधरीसँग स्वकीय सचिव पोखरेलले पटक–पटक गरी ३८ लाख ८० हजार रुपैयाँ लिएको बैंकको कारोबारबाट पनि पुष्टि हुन्छ । नबिल बैंक लिमिटेडमा पोखरेलको नाममा रहेको बचत खाता नं. ३५१००१७५०३९८१ मा पैसा पठाइएको थियो ।
अवकाश प्राप्त वरिष्ठ कृषि प्रसार अधिकृत बौआलालको २०७१ सालमा एक जना चिनारुमार्फत अनिलसँग चिनजान भएको थियो । चिनजानका क्रममै अनिलले आफ्नो ‘माथिसम्म’ राजनीतिक पहुँच रहेको बताएपछि बौआलालले सहजै पत्याए र एसएलसी सकेर बसेकी छोरीलाई डाक्टर पढाउन एमबीबीएमा नाम निकालिदिन पोखरेललाई रकम बुझाएका थिए ।
ठगीको आरोप लागेका पोखरेल मोरङको रंगेली नगरपालिका–२ का बासिन्दा हुन् । हाल काठमाडौंमा बस्ने ४३ वर्षीय पोखरेल गत निर्वाचनमा नेकपा एमालेबाट मोरङ क्षेत्र नं. २(२) को प्रदेशसभा सदस्यको उम्मेदवार पनि सिफरिस भएका थिए । प्रदेशसभाको टिकट भने लिलाबल्लभ अधिकारीले पाए । उनी पनि जापान मानब तस्करीमा जोडिएर विवादित बनेका छन् । अधिकारीले टिकट पाएपछि अनिललाई ऋषिकेशले आफ्नो स्वकीय सचिव बनाएका हुन् ।
पोखरेलको ठगीबारे हाम्रोमतले समाचार प्रकाशन गरेपछि लेखा समिति सभापति रहेका पोखरेलले स्वकीयलाई पदबाट हटाएका छन् । स्वकीय सचिवबाट हटाएको पत्र संघीय संसद् सचिवालयलाई शुक्रबार पठाइसकेका छन् ।
मोरङको धनपालथान गाउँपालिकाको कर्सियास्थित उमागौरी कृषि सहकारी संस्थामा करोडौं रकम अपचलन गरेको आरोपमा सभापति पत्नी अञ्जला कोइरालाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । हाल उनी फरार छिन् । सो प्रकरणमा पनि प्रहरीले अञ्जलालाई बयानसमेत नलिएर मुद्दा अगाडि बढाएको थियो ।
सांसद पोखरेलकै पहलमा खोलेको उमागौरी कृषि सहकारीका सञ्चालकले २२ करोड रुपैयाँभन्दा बढि रकम अपचलन गरेको भन्दै मोरङ जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ । सो रकम हिनामिना पोखरेलकी श्रीमती अञ्जला सहकारीको सञ्चालक भएको समयमा भएको थियो । सुरुमा सहकारीको अनुसन्धानको दायरमा प्रहरीले अञ्जलालाई नल्याएको भएपनि कागजातबाट उनको संलग्नता देखिने भएपछि मुद्दा दर्ता गरिएको छ ।
मुद्दा दर्ता भएर अदालतबाट पुर्जी जारी भएपनि अञ्जला पक्राउ परेकी छैनन् । श्रीमतीको बारेमा जानकारी नभएको बताउने पोखरेलले अञ्जला कार्यरत विराटगरको विराट रात्री विद्यालयमा बिदा स्वीकृतिका लागि आफैं पत्र पठाएको यसअघि नै खुलिसकेको छ ।