यसरी कब्जा गरेका थिए शर्माले नोवेल मेडिकल कलेज

यसरी कब्जा गरेका थिए शर्माले नोवेल मेडिकल कलेज

विराटनगर । सुनिल शर्माको पुख्र्यौली घर मोरङको लेटाङ हो । लेटाङमा माध्यमिक तह पढ्दा राजेन्द्र न्यौपाने नाम गरेका उनी त्यहाँ एसएलसी फेल गरेपछि कालीकोट जिल्ला गएका थिए ।

उताबाट फेरि ९ कक्षादेखि अध्ययन गरेर एसएलसी प्रथम श्रेणीमा पास भएर फर्किदा उनी सुनिल शर्मा भएका हुन् । हाल उनी नेपाली कांग्रेस महासमिति सदस्य छन् । उनलाई नेपाली कांग्रेसले २०७४ मा प्रतिनिधिसभा चुनावमा मोरङ –३ बाट उम्मेदवार बनाएको थियो । उनी तत्कालीन एमाले उम्मेदवार भानुभक्त ढकालसँग पराजित भएका थिए । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालासँग निकट सम्बन्ध रहेका उनले २०७९ मंसिरमा भएको निर्वाचनमा ढकाललाई नै पराजित गरे ।

विराटगर कञ्चनबारी ४ स्थित नोबेल मेडिकल कलेजमा शर्माको प्रवेश र नोबेलको स्वामित्व उनको एकल कब्जामा आउनुको पछाडि पनि लामो विवादित कहानी छ । २०५५ सालमा काठमाडौंमा नोवल एकेडेमी र नोवेल इन्ष्टिच्युट सञ्चालन गरिरहेका नवराज पाण्डे, रविन दहाल, उमेश पाण्डे आदित्य खनाललगायले मिलेर मेडिकल कलेज खोल्ने तयारी गरेका थिए ।

मेडिकल कलेजको सपनालाई मुर्तरुप दिन उनीहरुले विराटनगरका डा.ज्ञानेन्द्र गिरीलाई सहयोग मागे । २०५७ मा गिरिसमेत संलग्न भएपछि कञ्चनवारी पछाडि रहेको १५ विगाहा ९ कठ्ठा जग्गा प्रतिविगाहा १२ लाख रुपैयाँका दरले उनीहरुले काँग्रेस नेता चुमनारायण तबदारसँग खरिद गरे । कलेजका लागि जग्गा किनिसकेपछि कलेज दर्ता गर्न कम्पनी बनाउने तयारी भयो । डा.गिरीको अध्यक्षतमा कम्पनीको बिधान तयार भयो । अध्यक्ष डा.गिरी र नवराज पाण्डे मेनेजिङ डायरेक्टर बने । कम्पनी दर्ता भएपछि अस्पतालको भवन निर्माण सुरु भयो । तर, मेडिकल कलेजले सञ्चालन अनुमति पाएको थिएन । शाही शासनको बेला थियो । तत्कालीन शिक्षामन्त्री हरिबहादुर बस्नेतले कम्पनीको फाईल रोकिदिएपछि सञ्चालकहरुले विराटनगरका पूर्वप्रधानपञ्च रामकृष्ण भट्टराईको सहयोग मागे । रामकृष्णले आफूलाई पनि शेयर सदस्य बनाउने भए सहयोग गर्ने सर्त राखेपछि नाबेल टिमसँग विकल्प थिएन । उनीहरुले रामकृष्णलाई पनि शेयर सदस्य बनाए ।

कलेज सञ्चालनको लागि एकतले भवन बनिसकेको थियो । डा.गिरीको पहलमा कोशी अञ्चल अस्पतालले नोवेललाई दुई वर्ष प्राक्टिस चलाउन दिने सहमति पनि गरिसकेको थियो । तर, स्वास्थ्य मन्त्रालयले अनुमति रोकिदियो । त्यसपछि ततकालीन स्वास्थ्य सचिव लोकमानसिंह कार्कीसँग नोबेल टिम पुग्यो । कार्कीले विराटनगर पोखरियामा रहेको भुपालमानसिंह ग्राममा रहेको आफ्नो घर भाडामा लिने सर्तमा अनुमति फुकुवा गरिदिने बचन दिए । नोबेलले कार्कीको घर महिनाको १ लाख रुपैयाँ तिर्नेगरी भाडामा लिएर केन्द्रिय कार्यालय स्थापना गर्यो ।
कलेज अगाडि बढ्ने आशमा रहेका नोबेलका सञ्चालक अर्को समस्यामा परे । नेपाली काँग्रेसका केही नेताको दबाबमा कोशी अञ्चल अस्पतालसँग भएको सम्झौता खारेज भयो । कलेजले विद्यार्थी भर्ना लिइसकेको बेला सम्झौता खारेज भएपछि सञ्चालकहरु आत्तिएका थिए । शाही शासनको अन्त भएपछि कलेज सञ्चालनको काम अवरुद्ध नै भयो ।

नयाँ सरकारले बनेपछि मेडिकल कलेजले विश्वविद्यालयबाट सम्बन्धन लिनुपर्ने प्राबधानसहितको कानून बन्यो । नोबेल सञ्चालकले धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति रहेका रहेका डा.शेखर कोइरालामार्फत प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग जोडिन चाहे । त्यसमा सहयोगी बनेर सुनिल शर्मा भित्रिए ।

सञ्चालकहरुका अनुसार शर्माले सम्बन्धन दिलाईदिने आश्वासन दिएपनि त्यसवापत आफूलाई शेयर सदस्य बनाउन माग गरेका थिए । त्यसमा शेखरको पनि साथ थियो । डा.शेखरले पनि सुनिललाई शेयर दिएमा सम्बन्धन सहज हुने बताएपछि उनलाई विनालगानी ११ प्रतिशत शेयर दिएर भित्र्याएको डा.गिरीले केहि समय अगाडि सार्वजनिक गरेका थिए ।

नोबेल टिमले शर्मालाई मात्र शेयर दिएर सम्बन्धन पाएन । तत्कालीन शिक्षामन्त्री रहेका काँग्रेस नेता आमोद उपाध्यायले पनि छोरा संजिव उपाध्यायलाई शेयर सदस्य बनाए मात्र सम्बन्धन दिने अडान राखे । करोडौं लगानी गरिसकेका डा.गिरीसहित सञ्चालकहरुसँग अर्को विकल्प नभएपछि उनीहरुले दुबैलाई शेयर सदस्य बनाएका थिए । त्यसपछि आमोदकै पहलमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षमा बालुवाटारमै बसेको काठमाडौं विश्वविद्यालयको बैठकले नोबेललाई सम्वन्धन दिने निर्णय गरेको थियो । नोबेलले सम्बन्धन पाएपछि चतुर शर्माले सञ्चालक नवराज पाण्डेसँग निकट सम्बन्ध बनाएर कम्पनीको निर्देशक नियुक्ति पाए ।

कलेजका अध्यक्ष गिरीले शर्मालाई नरुचाएको भएपनि पाण्डे भने शर्मालाई साथ लिएर अगाडि जाने पक्षमा थिए । जसको कारण सञ्चालकहरुबीच नै मनमुटावको अवस्था बनेको थियो । नोबेल छिरेलगत्तै शर्माको छलकपट सुरु भएको डा. गिरी सम्झन्छन् । उनले कम्पनीमा शेयर किन्न काठमाडौको बानेश्वरमा रहेको जग्गा पास गरिदिएका थिए । तर, उनकी आमाले् आफ्नो जग्गा भन्दै मुद्दा हालेर बेचविखनमा रोक लगाईदिइन् । त्यसपनि शर्माले गिरीविरुद्ध पाण्डेलाई अध्यक्ष बन्न उचाल्न थाले । विवादपछि डा.गिरी अस्पताल जानै छाडेका थिए । कलेज सञ्चालनमा आएको थियो । त्यसबीच आदित्य शर्मा खनाल कलेजमा नयाँ शेयर सदस्यका रुपमा प्रवेश गरे । खनालले सञ्चालकबीच विवाद मिलाउने प्रयास गरे । शर्माको कारण समस्या भएको देखेपछि उनले शर्मालाई सञ्चालक समितिबाट हटाउने सहमति जुटाए ।त्यसपछि पाण्डेले कम्पनी रजिष्टारको कार्यालयमा शर्मा विरुद्ध उजुरी गरे । विनालगानी कलेजको ११ प्रतिशत शेयरको मालिक बनेका उनलाई कम्पनी रजिष्ट्रारको कार्यालयले ६० दिनभित्र कम्पनीको सवै शेयर फिर्ता गर्न निर्देशन दिएको थियो ।

त्यहीबेला कम्पनीको सेयर फिर्ता गर्न कागजात तयार गर्नुपर्ने भन्दै शर्माले अध्यक्ष डा.गिरी, निर्देशक पाण्डे, सञ्चालक आदित्य खनाल, उमेश पाण्डे र जग्गु रिजाललाई काठमाडौं बोलाए । २०६४ मंसिर १८ गते काठमाडौं विमानस्थलमा ओर्लनसाथ उनीहरुको अपहरण भयो ।
अपहरणकर्ताले कुटपिट गर्दै कलेजका सञ्चालकहरुबाट सबै कागजात र नगद कव्जामा लिएका थिए । उनीहरुमाथि ज्यानमार्ने धम्की दिईयो । अपहरण सुनिल शर्माले नै गराएका थिए । माओवादीको युवा संगठन वाईसिएलका तत्कालिन उपत्यका इञ्चार्ज सागर थापालाई प्रयोग गरेर उनीहरुको अपहरण गरिएको थियो ।

अपहरणमा परेका सञ्चालकहरु सुनिललाई हटाउने हैन आफैं कम्पनी छाड्ने व्यहोराको कागजमा सही गर्न बाध्य भए । अपहरण काण्डमा शर्माविरुद्ध जाहेरी परेपछि उनी भुमिगत जस्तै भए । तर, काँग्रेस नेताको संरक्षणमा उनी खुला भए । उनीमाथि कुनै कार्वाही भएन । त्यसबेला माओवादी अध्यक्ष प्रचण्ड र नेता डा.बाबुराम भट्टराईले घटनामा माफी माग्दै दोषीलाई कार्वाही गर्न माग गरेका थिए । त्यही बेला डिफेन्स आर्मीको आवरणमा कलेजका निर्देशक नवराज पाण्डेका भाई रमेश पाण्डेको अपहरण भयो । उनलाई २८ दिनसम्म भारतमा लगेर बन्धक बनाइयो । कलेजको सबै शर्माले कागजात आफ्नो नाममा पारिसकेपछि मात्र पाण्डे रिहा भएका थिए । त्यसबेला नोबेलका सञ्चालकहरुको घर र कलेजमा श्रृंखलाबद्ध बम विस्फोटका घटना हुनथाले । त्यसको जिम्मा अतिहिन्दुवादी भनेर चिनिएको संगठन डिफेन्स आर्मीका कमाण्डर आरपी मैनालीले लिने गरेका थिए । मैनालीसँग साँठगाँठ गरेर शर्माले विष्फोट गराएको प्रहरी अनुसन्धानले देखाएको थियो ।

विस्फोटमा संलग्न रहेको आरोपमा प्रहरीले डिफेन्स आर्मीका सुप्रिम कमाण्डर आरपी मैनाली, उपकमाण्डर त्रिभुवन यादव, सुनिलका सहयोगी रहेका नोवेलका कर्मचारी काशी चुँडाल र राजेश चौधरीलाई पक्राउ गरेको थियो । तर, शर्मा भने उच्च राजनीतिक संरक्षणकै कारण पक्राउ परेनन् ।

त्यसबेला आरपी र शर्माबीच भएको फोन वार्तामा शर्माले लाखौं रकम दिन बाँकी रहेको भन्दे आरपीले ताकेता गरेको जिकिरसहितका सूचना बाहिर आएका थिए । आफ्नो काम फत्ते भएपछि शर्माले नै आफ्ना सहयोग चुँडाललाई पक्राउ गराएर मैनालीलाई पनि पक्राउ गराएको खुलेको थियो ।

लगातारका घटनापछि नोबेल कलेज बन्द प्रायः भयो । अस्पतालमा विरामीहरु आउन छाडे । सञ्चालकको विवाद र अपरणकाण्डले गर्दा बद्नाम भएको नोवेल कर्मचारीहरुले तलब नपाएको भन्दै आन्दोलन चर्काउन थालेका थिए । विद्यार्थीहरु भविष्य धरापमा परेको भन्दै कलेज सञ्चालन गराउन सरकारले पहल गर्नुपर्ने माग गर्दै धर्ना र जुलुस गर्न बाध्य भए ।

संकटमा परेपछि सञ्चालकहरुले नोवेल कम्पनी बेच्ने मनस्थिति बनाए ।तर, कसैलाई पनि कम्पनी किन्न दिईएन । त्यसपछि सञ्चालकहरुले बाध्य भएर कलेज शर्मालाई नै किन्न आग्रह गरे । तर, उनले पनि किन्न मानेनन् । बरु, तत्काल आफुलाई सञ्चालन गर्ने जिम्मा दिएमा पछि शेयर फिर्ता गर्ने सर्त राखे । कलेजमा विद्यार्थी र कर्मचारीहरुको निरन्तर आन्दोलन र व्यापारीहरुलाई तिर्नुपर्ने बक्यौता रकमको बोझले वाक्क भएर सञ्चालकहरुले तत्काल शर्मालाई कलेज चलाउन दिन तयार भए । शेयरको रकम पछि फिर्ता लिने सहमतिमा कलेज जिम्मा लगाए ।

कलेजको जिम्मा पाएपछि शर्माले विराट नर्सिङ होमका सञ्चालक डा.ज्ञानेन्द्र कार्कीलाई ५० प्रतिशत शेयरसहित नोवेलमा भित्र्याए । डा.कार्कीसँग कलेज चलाउन पुँजी र बुद्धि दुबै थियो । कार्कीले लगानी गरेपछि कलेज सञ्चालन भयो । डा.कार्कीले नोवेललाई नमुना अस्पताल बनाउने योजना अगाडि ल्याए । तर, शर्मासँग कार्की ६ महिना पनि टिकेनन् । शर्माले कलेजको नाममा रहेको सबै जग्गा आफ्नो आमाको नाममा राखेपछि डा.कार्की हच्किए । उनीहरुबीच विवाद बढ्यो । त्यसपछि कार्कीलाई पनि अज्ञात समूहबाट धम्की आउन थाल्यो । कार्कीविरुद्ध कलेजकै विद्यार्थी विभाजित गराएर आन्दोलन चर्काइयो । कार्कीको घरमा २०६६ मा सुतली बमसमेत विस्फोट गराईएको थियो ।
त्यसपछि भयभित र वाक्क दिक्क भएर डा.कार्कीले शेयर फिर्ता लिए ।

कार्कीले शेयर फिर्ता लिएपछि बिनापैसा छिरेका सुनिल शर्माले करोडौको लगानीमा बनेर सञ्चालनमा आएको नोबेल कलेज र अस्पतालको एकल मालिक बने । कलेज आफ्नो भएपछि शर्माले युएनमा काम गर्दै गरेका दाजु केपी शर्मालाई ल्याएर कलेजको निर्देशक बनाए । उनी पनि सुनिलसँग टिक्न नसकेर बाहिरिए । त्यसपछि पूर्वाञ्चल विश्वविद्यायका पूर्वरजिष्टार भोगेन्द्र आर्चाय र डा. नारायण कुमारलाई नोबेलमा प्रवेश प्रवेश गराएकोमा उनीहरु पनि टिक्न सकेनन् । शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ती शुद्धिकरणमा पनि उजुरी परेको थियो । त्यसबेला उनले बाबु त्रिलोक न्यौपानेलाई अस्पतालको अध्यक्ष बनाएका थिए । सम्पत्ती शुद्धिकरणले उनलाई हिरासतमा पनि राखेर अनुसन्धान गरेको थियो । तर, शक्तिकेन्द्रको आडमा उनले उन्मुक्ति पाएको आरोप लाग्ने गरेको छ । सबैतिरबाट उन्मुक्ति पाएपछि उनले फेरि बाबुलाई हटाएर आफैं अध्यक्ष बनेका थिए ।

20 प्रतिक्रियाहरू

narayan kumar rai
श्रावण २७, २०८०

राम्रो स्टोरी । यसको फलोअप पनि पढ्न पाईयोस ।

श्याम खत्री
श्रावण ३०, २०८०

१५ बर्स अगाडिको कुरा अहिले गृहमन्त्री को राजिनामा मागे पछि थाहा पाइयो

तामाङ
श्रावण ३१, २०८०

गधा खातेलाइ काट्नु पर्ने यस्तो कुकुरलाई सरकारले छानबिन गरि कार्वाही गर्नु पर्छ ।

D K
श्रावण २७, २०८०

Paap dhuri baat karau xa bhanthe ni tesaile ta nakkali certificate kanda ma paryo.

Abhishek Kumar Bhagat
श्रावण २७, २०८०

Yo Kura haru aile nai kina audaixa barso purano Kura haru Asti dekhin Ka thiyo yo Kura haru Jaba dekhin sune kanda bhako xa Teti khera dekhin nai yo Kura ako xa aile KO subject matter ho sune kanda jasma Dr Sharma KO ramro sujhab xa so sab Jana wahako pachadi lageka xan

Mayank Sharma
श्रावण ३१, २०८०

bacha ko samaya ayepachhi janminchha 9 mahina, yon samparka garekai din bachha janminchha ra? Din aayo kura khulyo, anushandaan kahile barshau laagchha apraadhi samma pugna.

दिल
श्रावण २७, २०८०

सजाय आजीवन होस प्रभु ।

सुन शर्मा
श्रावण २७, २०८०

बिरामि निको पार्न भनी बनाईने अस्पताललाई आज सुनिल शर्माले मृत शरीर माथि व्यापार गर्ने , उपचारमा लापरबाही गर्दै बिरामि सिध्याउने अनि पैसा लुट्ने यो नमुना अस्पताल होइन नमुना मुर्दा घाट भन्छु म चाहिँ …… के कसरी भनी आफै परि भोगेको भोगाई हो मेरो ………

narapati pandey
श्रावण २८, २०८०

दोस्रो ल्यारक्याल रहेछन् ।

Lingden ram
श्रावण २८, २०८०

अरु संग मिलने मौका पायो निलने ????????

बद्री प्रसाद शिवाकोटी
श्रावण २८, २०८०

सत्य कुरा जनतामा लानुपर्छ । यो लेखले केही कुरा खुलाएको जस्तो लाग्छ । यदि यो सत्य हो भने मुल पात्रसँग कसैले सँगत नगरे हुन्छ ।

Bakhate saailo
श्रावण २८, २०८०

क बर्षामान पुन जोडिएको कुरो त आउँदै आएन त यसमा के हो कुरो ?

Sahil Ahamad
श्रावण २८, २०८०

Balaen sahaa sir lai auna dinus sabi mathi larvaee huncha….

Sahil ahamad
श्रावण २८, २०८०

Karvaee huncha

श्रीराम खाईजु
श्रावण २९, २०८०

पञ्चायत र बहुदलकाल यस्ता यस्ता कथित् सुनिल शर्माहरू गाउँ गाउँमा थिए र यस्ताे जाली कुचक्रकाे सिकार हरेक घर घरकाे कहानी थियाे । साशक प्रशाशक उनै सुनिलहरूकाे रक्षामा आफुलाई समर्पित गर्थे ! जनता नागरिक हाेईन रैति बन्न विवस थिए ! तर लाेकतन्त्रले गाउँ गाउँवाट सामन्तहरू लखेटीएपछि रैतिवाट जनता बन्दै नागरिक बन्ने माैका पाएका छन् । त्यसैले जनताकाे रगत मासु लुछिरहेका सामन्त, जाली फटाहाहरूले माओवादीलाई आँखाकाे कसिंगर ठान्छन्, त्यसैकाे बर्गीय प्रतिनिधित्व एमाले, राप्रपाले गरिरहेकाे छ, अन्य त भ्रमित एकक्षणकाे लागि भएकामात्र हुन् । सामन्तवादकाे तानावाना च्यात्तिएपछि कालाे बादल फाट्नेछ, क्षितज उदाँगाे हुनेछ, सुशाशीत, स्वाभिमानी नेपालकाे सगरमाथा छ्यांङ्गै देखिनेछ ।

dinesh prasad acharya
श्रावण २९, २०८०

के नेउपाने के शर्मा भनेनी आखिर यो देशमा को चै सद्दे छ र? तेइ ग्यानेन्द्र गिरि भन्ने लाखौं खुवाएर बिपि को vc भा हैन र?अनि बैठक मा रक्सी खाएको निउमा पुरै धरान ले थु थु गरेको हैन?को कसरी आयो आयो?तर सुनिल शर्माको गिरफ्तारी त अर्थ मन्त्री र गृहमन्त्री को राजिनामा मागे पछि आएको हैन र?उनी गलत थिय भने उन्लाइ टिकट दिने सहि हुन्छन र?कुरै गर्ने भए बालकृष्ण नेउपाने ले शेर बहादुर देउपाको केइ नहुने ७ रोपनी जग्गा र ७ वटा बाख्रा थिय धानको भात खान गारो थियो इन्को एत्रो सम्पत्ति कहाँ बाट आयो भन्छ्न,तेस्को जवाफ खै?

Rupesh serma
श्रावण ३०, २०८०

सुनकाण्ड पछि मात्र यो कुरा आउनु तेत्रो चुनावमा टिकट पाउँदा, उम्मेदवार हुँदा, संसद हुँदा यी सबै गुमनाम हुनु यो प्रतिशोध सिवाय केही होइन ।

Khem raj Rai
श्रावण ३०, २०८०

नेपाल क़ो क़ानून पैसा र पावर मा बिके पंछी को उदारहण हो यो यस्टाई भई रहने हो भने नेपाल मा फेरी जनयुद्द हूने पक्का छः

Shambhu Singh
श्रावण ३१, २०८०

यो घटनाबाट राम्रो फ़िल्म बन्छ.

Mayank Sharma
श्रावण ३१, २०८०

bacha ko samaya ayepachhi janminchha 9 mahina, yon samparka garekai din bachha janminchha ra? Din aayo kura khulyo, anushandaan kahile barshau laagchha apraadhi samma pugna.

प्रतिक्रिया दिनुहोस्