विराटनगर । नेकपा एमालेका सांसद एवम् सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलले एमबीबीएसमा निकालिदिनकै लागि रकम लिएको भन्दै लिखित हस्ताक्षर गरेको पाइएको छ ।
सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका– ५ का बौआलाल चौधरीसँग छोरी दीक्षा चौधरीको नाम एमबीबीएसमा निकालिदिनकै लागि ३८ लाख ८० हजार रुपैयाँ बुझेको हस्ताक्षर पोखरेलले गरेको प्रमाण फेला परेको हो ।
विभिन्न मितिमा चौधरीसँग सो रकम लिएपछि २२ मंसिर २०७३ मा चेकको अर्धकट्टीमा रकम बुझेको हस्ताक्षर गरेको पाइएको छ । ‘तपाइको छोरी दीक्षा चौधरीलाई एमबीबीएसमा भर्ना गराउन लाग्ने ३८ लाख ८० हजार रुपैयाँ चेकमार्फत बुझिलिएको छु’ लेखेर पोखरेलले हस्ताक्षर गरेका छन् ।
वरिष्ठ कृषि प्रसाद अधिकृतमा कार्यरत चौधरीले विराटनगर १४ डिग्री क्याम्पस अगाडिको १ कठ्ठा जग्गा बिक्री गरेर अनिललाई पैसा दिएको बताएका छन् । ‘दुःख गरेर कमाएको पैसाले किनेको एक कठ्ठा जग्गा ४० लाखमा विक्री भयो । छोरीलाई डाक्टर बनाउन सो जग्गा विक्री गरेको पैसा २०७१ देखि २०७३ मा पटक–पटक गरेर बुझाएको थिएँ’ चौधरीले भने, ‘सबै रकम बुझेपछि पोखरेलले विराटनगरमा आएर चेकको अर्धकटट्टीमा हस्ताक्षर गरेका हुन् ।’
एमबीबीएसको प्रवेश परीक्षामा छोरीलाई उत्तीर्ण गराइदिने र होस्टलमा राख्ने वातावरण बनाइदिने भन्दै पोखरेलले चौधरीबाट रकम लिएका थिए । तर, दीक्षाको नाम निस्किएन ।
चौधरीले पहिलो किस्ताबापत २०७१ फागुन १३ मा साथी केदारप्रसाद घिमिरेमार्फत अनिललाई ५० हजार रुपैयाँ दिएका थिए भने रामदेव सिंहमार्फत १ लाख रुपैयाँ नबिल बैंकमा रहेको अनिलको खाता नं ३५१००१७५०३९८१ मा जम्मा गरेको बैंक भौचरमा उल्लेख छ । २०७३ जेठ १३ मा नबिल बैंकको सोही खातामा १ लाख ३० हजार जम्मा गरिएको थियो । २०७३ मंसिर २२ मा बौआलालले एकमुष्ट १८ लाख रुपैयाँ जम्मा गरिदिए ।
चौधरीका अनुसार पैसा लिएपछि अनिल करिब ३–४ महिना सम्पर्कविहीन भएका थिए । एमबीबीएसको प्रवेश परीक्षामा छोरीको नाम निस्केला भनेर पर्खेर बसेका उनी पोखरेल सम्पर्कविहीन भएपछि निराश भए । ‘बल्लतल्ल सम्पर्क हुँदा कहिले अस्ट्रेलिया पुगेको छु भन्थे, कहिले क्यानडा,’ चौधरीले भने, ‘त्योबेला म र परिवार पुरै तनावमा थियौं, एकातिर छोरीको डाक्टर बन्ने सपना उसको विश्वासमा पर्दा तुहियो, अर्कोतिर रकम पनि डुब्यो ।’
चौधरीका अनुसार एकपटक अनिलले सहकारीमा पैसा राखेको र चाहिएका बेला झिक्न मिल्ने बताएका थिए । अर्कोपटक भने क्यानडाबाट आफ्नो एक करोड रुपैयाँ आउन लागेको र आउनेबित्तिकै पैसा फिर्ता गर्ने आश्वासन दिएका थिए । एक पटक पैसा नभएको बैंक खाताको चेक पनि दिन खोजेको भएपनि लिन नमानेको उनले बताए ।
२०७९ साउन ९ मा भने हिसाब चुक्ता गरिदिन्छु भनेर अनिलले बौआलाललाई काठमाडौं बोलाए । ‘तपाईंको हिसाब चुक्ता गरिदिन्छु आउनुहोस् भनी बोलाई ८–१० जनाको समूहले मलाई २०७४ असार २५ गते आइतबारको मिति राखिएको कपाली लिखतमा ऋणी बनाई ५० लाख रुपैयाँको कागज बनाएर जबरजस्ती हस्ताक्षर गराए,’ उनले अदालतमा दिएको निवेदनमा उल्लेख छ ।
एकातिर ठगीमा परेको र अर्कोतिर किर्ते तमसुक बनाएर उल्टै आफूलाई ऋणी बनाएपछि चौधरीले ५० लाख ऋणको कपाली लिखत बदर गरी आफ्नो ३८ लाख ८० हजार रकम फिर्ता गराइदिन प्रहरी गुहारेका थिए । उनी अनिलमाथि कानुनी कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय रंगेली पुगेका थिए । प्रहरीले जिल्लामा निवेदन दर्ता गर्नु भन्दै फर्काइदियो । उनी पोखरेललाई रकम दिएको बैंक भौचर र पोखरेलले रकम बुझेको भन्दै गरेको हस्ताक्षरसहितको कागजसहित जिल्ला प्रहरी कार्यालय मोरङ पुगे । तर, प्रहरीले प्रमाण नपुग्ने भन्दै जाहेरी दर्ता गर्न मानेन ।
बौआलालले जिल्ला सरकारी वकिलको कार्यालय गुहारे । त्यहाँबाट पनि उनको पीडा सुनुवाइ भएन । त्यसपछि उनले २०७९ साउन १८ मा जाहेरी हुलाकबाट प्रहरीलाई पठाए । प्रहरीले हुलाकबाट आएको पत्र बुझेपनि जाहेरी दर्ता गरेन । त्यससपछि उनले अनिलमाथि ठगीमा अनुसन्धान गर्नका लागि प्रहरी र वकिल कार्यालयका नाममा परमादेश जारी गरिपाऊँ भनेर उच्च अदालत पुगेका थिए ।
उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी वज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको इजलासले गत भदौमै अनिलविरुद्ध जाहेरी दर्ता गरी कानुनअनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएको छ । आदेशको पुस ११ गते प्रमाणिकरण भएको छ । तर, अझै प्रहरीले आदेश आइनपुगेको भन्दै अनुसन्धान अगाडि बढाएको छैन ।
२०७१ सालमा कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र झुम्का, सुनसरीको प्रमुख थिए, बैआलाल । त्यसबेला बैआलालको साथी रामदेव सिंहमार्फत अनिलसँग चिनजान भएको थियो । चिनजानका क्रममै अनिलले आफ्नो ‘माथिसम्म’ राजनीतिक पहुँच रहेको बताएपछि बौआलालले सहजै पत्याए ।
बैआलालको श्रीमति बीएससी नर्सिङ भएकोले छोरीलाई डाक्टर बनाउने सपना चौधरी परिवारले देखेको थियो । त्यतिबेला छोरी दीक्षा एसएलसी सकेर बसेकी थिइन् । डाक्टर पढ्ने छोरीको धोको पूरा गर्न बौआलालले अनिलसँग सहयोग मागे । त्यसपछि अनिलले ‘म नाम निकाल्न लगाइदिन्छु तर त्यसबापत पैसाचाहिँ निकै खर्च गर्नुपर्छ’ भनेको बौआलाल बताउँछन ।
अदालतको परमादेशपछि न्याय पाउने आशा जागेको बौआलालले बताएका छन् । धेरै दुःख गरेपछि अहिले अदालतले परमादेश दिएपछि न्याय पाउने आशा पलाएको उनले बताए । ‘३८ लाख ८० हजार रुपैयाँ डुबेपछि पैसाँ फिर्ताको लागि प्रहरी प्रशासनदेखि राजनैतिक दलका नेताको घरसम्म पुगे । तर, कैतैबाट न्यायको ढोका खुलेन’ उनी भन्छन्, ‘धेरै ठाउँ, धेरै मान्छेलाई भन्दा–भन्दा थाकेको मान्छे हुँ म । अहिले अदालतले आदेश दिएको छ । न्यायको बाटो खुलेको छ । अब मलाई मेरो पैसा फिर्ता चाहियो ।’
राजनीतिक रूपमा केन्द्रसम्म पहुँच भएका अनिलविरुद्ध अब कसरी अनुसन्धान हुन्छ भन्ने प्रश्न अझै छ । उनी आबद्ध दल एमालेको नेतृत्वमा केन्द्र र प्रदेशमा सरकार छ । अनिललाई स्वकीय सचिव बनाउने ऋषिकेश पोखरेलले पनि राजनीतिक पहुँचमा सहकारी ठगीका अभियुक्त श्रीमतीलाई जोगाउँदै आएका छन् । यद्यपी स्वकीय सचिवबारेको भने समाचार आएपछि उनले पदबाट अनिललाई हटाएका छन् ।
यो पनि हेर्नुहोस्: