लोड हुँदैछ...

मेनु

पक्राउ परेका लेखापढी व्यवसायीलाई ५ दिन हिरासतमा राख्न अनुमति

पक्राउ परेका लेखापढी व्यवसायीलाई ५ दिन हिरासतमा राख्न अनुमति

इटहरी । सेवाग्राहीलाई अनावश्यक दुःख दिने, काम छिटो गरिदिने बहानामा रकम असुल्ने तथा सरकारी प्रक्रियामा हस्तक्षेप गर्ने गरेको आरोपमा पक्राउ परेका १८ जनाविरुद्ध प्रहरीले अभद्र व्यवहारअन्तर्गत मुद्दा दर्ता गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा मालपोत कार्यालय र इटहरीस्थित यातायात व्यवस्था कार्यालय परिसरमा संयुक्त अभियान सञ्चालन गर्दै पक्राउ परेकाहरु विरुद्ध मुद्दा दर्ता गरेको हो ।

प्रहरीका अनुसार इनरुवास्थित मालपोत कार्यालयबाट पक्राउ परेका १३ जनाविरुद्ध जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरिएको छ। उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चन्द्रबहादुर खड्काका अनुसार सेवाग्राहीको काम छिटो गरिदिने भन्दै अवैध रूपमा रकम असुल्ने गरेको गुनासोपछि प्रहरी निरीक्षक प्रकाश पराजुलीको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामध्ये केहीले लेखापढी व्यवसाय दर्ता गरे पनि नापी कार्यालयमा काम गर्न आवश्यक ५० हजार रुपैयाँ धरौटी नराखेको पाइएको प्रहरीले जनाएको छ।

मालपोत कार्यालयबाट पक्राउ पर्नेहरूमा रामधुनी–९ का युजिन घिमिरे, रामधुनी–५ का धननारायण श्रेष्ठ, इटहरी–५ की अर्चना आचार्य, इटहरी–५ का दीपककुमार दाहाल, इनरुवा–३ की आयसा मोते, इनरुवा–२ का मिलन मेहता, इनरुवा–६ का मेघराज फुयाँल, इनरुवा–८ का वीरेन्द्र पण्डित, इनरुवा–२ का असिप आचार्य, इनरुवा–६ का रोशन विक, इनरुवा–१ का प्रमोदकुमार सिंह, भोक्राहा नरसिंह–५ का एकरार आलम मन्सुरी र भोक्राहा नरसिंह–१ का सर्ताज आलम मन्सुरी रहेका छन्।

यसैगरी, इटहरी–१० स्थित यातायात व्यवस्था कार्यालय परिसरबाट पक्राउ परेका ५ जनाविरुद्ध पनि अभद्र व्यवहारमै मुद्दा दर्ता गरी पाँच दिनको म्याद थप गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखिएको छ।

इटहरीबाट पक्राउ पर्नेहरूमा सुमन ओझा, शेरबहादुर कार्की, योगेन्द्र ओझा र सूर्य थापा रहेका छन्। सरकारी कार्यालय परिसरमा बिचौलियाको सक्रियता बढेको गुनासो आएपछि प्रहरीले विशेष अभियान सञ्चालन गरेको जनाएको छ। सेवाग्राहीसँग अवैध रकम असुल्ने तथा प्रक्रियामा अवरोध गर्ने गतिविधि नियन्त्रण गर्न यस्ता कारबाहीलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।