काठमाडौं । नेपाली कांग्रेसले गत फागुन २१ गतेको निर्वाचनमा बेहोर्नुपरेको पराजयको मुख्य कारण विगतमा गरिएको ‘गठबन्धन संस्कृति’ रहेको निष्कर्ष निकालेको छ। शुक्रबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समीक्षा प्रतिवेदनमा निर्वाचनमा अपेक्षित नतिजा आउन नसक्नुमा चुनावी र सरकारी दुवै खाले गठबन्धन जिम्मेवार रहेको उल्लेख गरिएको छ।
निर्वाचनको परिणामपछि महामन्त्री गगन थापाले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए। तर, केन्द्रीय कार्यसमिति बैठकले ‘स्थिति सम्हाल्ने प्रधान नैतिक दायित्व’ महामन्त्रीकै भएको ठहर गर्दै थापाको राजीनामालाई अस्वीकृत गरिदिएको छ। कांग्रेसले २०७९ मा माओवादी केन्द्रसहित गरिएको चुनावी गठबन्धन र २०८१ असार १७ गतेपछि एमालेसँग गरिएको सत्ता समीकरण दुवैले पार्टीलाई राजनीतिक घाटा पुर्याएको ठम्याएको छ।
प्रतिवेदनमा भनिएको छ, ‘संसद् जोगाउन बनेको गठबन्धनलाई पछि चुनाव जित्न प्रयोग गरियो, जसका कारण पार्टीका इमानदार कार्यकर्ता र आम जनता दुवैमा चरम असन्तुष्टि पैदा भयो।’ उपसभापति शर्माले उक्त चुनावी गठबन्धन अपारदर्शी ढङ्गले र महामन्त्री तहमा समेत सल्लाह नगरी रातारात गरिएको दाबी गरेका छन्। यसले गर्दा जनतामा ‘गठबन्धन’ शब्द नै अलोकप्रिय बन्न पुगेको कांग्रेसको ठहर छ।
एमालेसँगको वर्तमान सत्ता गठबन्धनलाई पनि फागुन २१ को पराजयको एउटा प्रमुख कडी मानिएको छ। दुई ठूला दल मिलेर सरकार बनेपछि जनतामा तीव्र विकास र स्थिरताको अपेक्षा बढे पनि सरकारको प्रस्तुति भने ‘औसत’ मात्रै रहेको प्रतिवेदनमा औंल्याइएको छ। २०८१ असार १७ गतेको ७ बुँदे सम्झौतामा संविधान संशोधन, प्रदेश अधिकार, शिक्षा र निजामती विधेयक जस्ता महत्त्वपूर्ण विषय समेटिए पनि हालसम्म संविधान संशोधन कार्यदलसमेत गठन हुन नसक्नुलाई कमजोरीका रूपमा लिइएको छ।
यसैगरी, सामाजिक सञ्जाल विधेयक जस्ता संवेदनशील विषयहरूमा गठबन्धनभित्र न्यूनतम सहमतिसमेत नगरी संसद्मा दर्ता गर्दा नागरिकमा सरकारप्रति रोष बढेको प्रतिवेदनमा उल्लेख छ। एमालेसँगको सत्ता सहकार्यले संसद्मा प्रतिपक्षी स्वरसमेत कमजोर बनाएको कांग्रेसको ठम्याइ छ। दुई मुख्य दलमध्ये एक सत्तापक्ष बनेपछि नागरिकका समस्या र असन्तुष्टिहरू संसद्मा सशक्त ढङ्गले उठ्न नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।