लोड हुँदैछ...

मेनु

पार्टीको केन्द्रीय समिति भंग गरेर एकता महाधिवेशनमा जाऔं : केदार कार्की

पार्टीको केन्द्रीय समिति भंग गरेर एकता महाधिवेशनमा जाऔं : केदार कार्की

विराटनगर । नेपाली कांग्रेसका नेता एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले पार्टीको वर्तमान केन्द्रीय कार्यसमिति भंग गरेर एकताको महाधिवेशनमा जान प्रस्ताव गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता कार्कीले पार्टीलाई सम्भावित दुर्घटनाबाट बचाउन नियमित महाधिवेशनको विकल्प नरहेको तर्क गरेका हुन् ।

पार्टी नेतृत्वको आलोचना गर्दै कार्कीले वर्तमान अवस्थाको जिम्मेवार सभापति मात्र नभई पदाधिकारीहरू पनि रहेको दाबी गरेका छन् । ‘हिजो पनि आज पनि सभापतिको मात्र दोष र कमजोरी होइन, पदाधिकारी पनि त्यत्तिकै दोषी छन्, जसले समग्र पार्टी र देशको लागि सन्देश दिन सकेनन्,’कार्कीले लेखेका छन् ।

उनले अबको बाटो वार्ता र महाधिवेशन नै भएको उल्लेख गर्दै तत्काल ठोस कदम चाल्न आग्रह गरेका छन् । कार्कीले अगाडि लेखेका छन्, ‘समिति भंग गरौँ, वार्ता गरौँ । महाधिवेशन तयारी समिति बनाएर एकताको नियमित महाधिवेशनमा जाऔँ । अर्को दुर्घटनाको प्रतीक्षा नगरौँ ।’

पार्टीलाई बलियो बनाउन नेताहरूले व्यक्तिगत स्वार्थ त्याग्नुपर्नेमा जोड दिँदै उनले एक(एक पाइला पछि सरेर पार्टीलाई दुई पाइला अघि बढाउन आह्वान गरेका छन् । आफ्ना समर्थक र नेता–कार्यकर्ताहरूलाई लक्षित गर्दै उनले ‘दास र लास हुनबाट हामी पनि बचौँ है’भन्दै कडा टिप्पणी समेत गरेका छन् ।

कुनै समय डा. शेखर कोइराला निकट मानिने कार्की पछिल्लो समय नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको पक्षमा प्रखर रूपमा उभिँदै आएका छन् । उनले पार्टीको सुदृढीकरणका लागि नेतृत्व परिवर्तन र वैचारिक स्पष्टता आवश्यक रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।