लोड हुँदैछ...

मेनु

गगन थापाको राजीनामा अस्वीकृत हुने विश्वप्रकाशको घोषणा

गगन थापाको राजीनामा अस्वीकृत हुने विश्वप्रकाशको घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा स्वीकृत नहुने स्पष्ट पारेका छन् । निर्वाचनको परिणामपछि विकसित राजनीतिक घटनाक्रमका बीच उपसभापति शर्माले सभापति थापाको राजीनामा अस्वीकृत हुने बताएका हुन् ।

शर्माका अनुसार शुक्रबार बस्ने नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा दुईवटा मुख्य प्रस्तावहरू पेस हुनेछन् । बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा गरिनुका साथै सभापति थापाले बुझाएको राजीनामा पत्र र त्यसलाई अस्वीकृत गर्ने प्रस्ताव एकैसाथ पेस गरिने उनले जानकारी दिएका छन् ।

निर्वाचनमा पार्टीले व्यहोरेको हारको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले उपसभापति शर्मासमक्ष राजीनामा बुझाएका थिए । थापाको यो कदमलाई सकारात्मक मान्दै शर्माले यतिबेला राजीनामा दिएर बाहिरिने भन्दा पनि परिस्थिति सम्हाल्नु मुख्य दायित्व भएको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उपसभापति शर्माले लेखेका छन्, ‘नैतिक जिम्मा लिन्छु भन्नू सकारात्मक छ, तर यतिबेलाको प्रधान नैतिक दायित्व भनेको स्थिति सम्हाल्नु हो ।’

शर्माले सभापति थापाको बचाउ गर्दै थपेका छन्, ‘डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन ।’ उनको यो भनाइले चुनावी परिणामको दोष सभापति थापालाई मात्र दिन नहुने र उनलाई राजीनामा गराउनु न्यायोचित नहुने संकेत गरेको छ ।

निर्वाचनपछि पहिलोपटक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबारका लागि तय गरिएको छ । उक्त बैठकले निर्वाचनको गम्भीर समीक्षा गर्दै पार्टीको आगामी कार्यदिशा र नेतृत्वको विवादका विषयमा ठोस निर्णय लिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।