धनगढी । कैलालीमा एक पुरुषले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेर आफूमाथि पनि गोली प्रहार गरेका छन् । जिल्लाको गोदावरी नगरपालिका–४ अमलेशैनी गाउँमा ३१ वर्षीय रामबहादुर मगरले २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डिएसपी)योगेन्द्र तिमिल्सिनाका अनुसार जंगलमा बाख्रा चराउन गएका बेला रामबहादुरले श्रीमतीमाथि भरुवा बन्दुक प्रहार गरेका थिए । घरायसी विवादका कारण मगरले श्रीमतीको ज्यान लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
श्रीमतीको हत्या लगत्तै उनले सोही बन्दुकबाट आफूलाई पनि गोली हानेका थिए । आफैँले चलाएको गोलीबाट गम्भीर घाइते भएका रामबहादुरको अहिले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको र अझै होस नआएका कारण घटनाबारे थप विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।
मृतक संजिताको शव अझै घटनास्थलमै रहेको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ । यो घटनाले स्थानीय अमलेशैनी गाउँ शोक र त्रसमा डुबेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।