काठमाडौँ । नेपालमा प्रि–मनसुन सक्रिय भएसँगै आज (बिहीबार) देखि मौसम फेरि बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बेलुकीदेखि शनिबारसम्म देशका धेरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना रहेको छ ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण अहिले कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भागमा मौसम सामान्यतया सफा छ ।
महाशाखाका अनुसार आज दिउँसो र राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । यस्तै लुम्बिनी र गण्डकीका पहाडी भाग तथा बागमती र कोशीका पहाडी र हिमाली क्षेत्रका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको आकलन गरिएको छ ।
वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आजबाट मौसममा बदली थपिनेछ भने शुक्रबार र शनिबार यसको प्रभाव बढी देखिनेछ ।‘प्रिमनसुनको समयमा मौसम खुल्ने र फेरि प्रणाली विकास भएर बदली हुने क्रम जारी रहन्छ,’ पौडेलले भने, ‘शुक्रबार र शनिबार देशका धेरै ठाउँमा वर्षा हुनेछ, तर यो देशैभरि एकैसाथ हुनुभन्दा पनि कतै पर्ने र कतै रोकिने प्रकृति ९क्अबततभचभम च्बष्ल० को हुनेछ ।’
यसैगरी मौसमविद् विनोद पोखरेलले पश्चिमी वायुको प्रभावका कारण आज बेलुकादेखि पश्चिम नेपालबाट वर्षा भित्रिने जानकारी दिए । उनका अनुसार शुक्रबार र शनिबार काठमाडौँ र मधेश प्रदेशसहित धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
प्रि–मनसुनको समयमा हावाहुरी, चट्याङ र असिनापानीको जोखिम बढी हुने भएकाले मौसमविद्हरूले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन् । कतै घाम लागिरहेकै समयमा पनि अर्को ठाउँमा अचानक हावाहुरी र असिना आउन सक्ने भएकाले विशेष सावधानी अपनाउनु पर्ने वरिष्ठ मौसमविद् पौडेलको भनाइ छ ।
पछिल्लो एक सातादेखि नेपालका विभिन्न भागमा प्रि(मनसुनका कारण बदली र वर्षाको क्रम चलिरहेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।