लोड हुँदैछ...

मेनु

निर्वाचन सफल पार्न सहयोग गरेकोमा प्रधानमन्त्री कार्कीद्वारा नेकपा नेताहरूलाई धन्यवाद

निर्वाचन सफल पार्न सहयोग गरेकोमा प्रधानमन्त्री कार्कीद्वारा नेकपा नेताहरूलाई धन्यवाद

काठमाडौँ ।प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोगी भूमिका निर्वाह गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरूलाई धन्यवाद व्यक्त गरेकी छन् । मंगलबार प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुगेका नेकपाका शीर्ष नेताहरूसँगको भेटमा उनले नवनिर्वाचित प्रतिनिधिहरूलाई बधाई समेत दिएकी छन् ।

भेटवार्तामा नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेताहरू नारायणकाजी श्रेष्ठ र वर्षमान पुन लगायतको सहभागिता थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार भेटमा निर्वाचनपछिको समसामयिक राजनीतिक अवस्था र भावी कार्यदिशाका बारेमा छलफल भएको थियो ।

प्रधानमन्त्री कार्कीले निर्वाचनको पक्षमा सकारात्मक वातावरण बनाउन नेकपाले खेलेको भूमिकाको प्रशंसा गर्दै भनिन्, ‘तपाईंहरूले निर्वाचनमा भाग लिनुभयो र मुलुकलाई शान्तिपूर्ण एवं लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका निर्वाह गर्नुभयो । यसका निम्ति म सबैलाई धन्यवाद दिन्छु । साथै, निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना छ ।’

भेटका क्रममा नेकपाका संयोजक प्रचण्डले प्रधानमन्त्रीको दृढता र इमानको प्रशंसा गर्दै समयमै निर्वाचन नभएको भए मुलुक संकटमा पर्ने बताए । प्रचण्डले भने, ‘यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान सक्ने सम्भावना थियो । निकै चुनौतीपूर्ण र अस्तव्यस्त अवस्थामा पनि तपाईंले जुन साहस र मेहनतका साथ ६ महिनाभित्रै चुनाव गराउनुभयो, यो निकै महत्त्वपूर्ण र प्रशंसालायक छ । उनले आफ्नो पार्टी सुरुदेखि नै निर्वाचनको पक्षमा उभिएको र लोकतन्त्रको सुदृढीकरणका लागि प्रतिबद्ध रहेको समेत स्मरण गराए ।

अस्तव्यस्त अवस्थामा रहेको मुलुकलाई सम्हालेर छोटो समयमै निर्वाचन सम्पन्न गराउनु प्रधानमन्त्री कार्कीको स्वच्छ छवि र दृढ संकल्पका कारण सम्भव भएको नेताहरूको भनाइ थियो । यसअघि प्रधानमन्त्री कार्कीले नेकपा (एमाले) लगायतका विभिन्न राजनीतिक दलका नेताहरूसँग पनि भेट गरी निर्वाचन सफल बनाउन सहयोग गरेकोमा आभार प्रकट गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds