काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै अबको एमाले आम कार्यकर्ताको भावना र आधुनिक कार्यपद्धतिबाट चल्नुपर्नेमा जोड दिएका छन् ।
सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै नेता पाण्डेले पार्टी अहिलेसम्म ‘बन्द कोठा’को षड्यन्त्र र सीमित व्यक्तिको चाहनामा चलेको भन्दै अब त्यसलाई कार्यकर्ता केन्द्रित बनाउन जरुरी रहेको उल्लेख गर्नुभएको छ । ‘पार्टीका कुरा बैठकमा गर्ने कि सामाजिक सञ्जालमा रुू भन्ने प्रश्नको जवाफ दिँदै उहाँले आधिकारिक फोरमहरूमा उठाइएका सुधारका आवाजहरूलाई नेतृत्वले बेवास्ता गरेको आरोप लगाए । ’
‘हामीले पार्टीका आधिकारिक फोरम र बैठकहरूमा पटक–पटक सुधारका ठोस मार्गचित्र प्रस्तुत गर्यौँ र गल्तीहरू औंल्यायौँ,’पाण्डेले लेखेका छन् ‘ती आवाजहरूलाई गम्भीरतापूर्वक सुन्नु र छलफल गर्नुको साटो ‘नोट अफ डिसेन्ट’को एउटा कुनामा मात्र सीमित गरियो ।’
नेता पाण्डेले पार्टीका बैठकहरू केवल औपचारिकता र नेतृत्वको ‘हुकुम’ सुनाउने थलोमा परिणत भएको टिप्पणी गरेका छन् । उनका अनुसार बैठकहरू सुन्ने र सुध्रिने थलो नभएपछि त्यहाँ विवेकको अन्त्य हुने र अहङ्कार हाबी हुने अवस्था सिर्जना भएको छ ।
उनले लेखेका छन् ‘जब बैठक सुन्ने र सुध्रिने थलो होइन, केवल सुनाउने र ‘हुकुम’ दिने औपचारिकता मात्र बन्छ, तब त्यहाँ विवेकको मृत्यु हुन्छ र अहङ्कारले ठाउँ पाउँछ ।’
आगामी दिनमा एमालेको कार्यदिशा कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा पाण्डेले पार्टी केही सीमित व्यक्तिको ‘क्याल्कुलेसन’बाट नभई आम कार्यकर्ताको भावना र आधुनिक पद्धतिबाट चल्नुपर्ने स्पष्ट पारेका छन् । उनले बन्द कोठाको रणनीतिले पार्टीलाई अगाडि बढाउन नसक्ने भन्दै नेतृत्वलाई सच्चिन आग्रह गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।