लोड हुँदैछ...

मेनु

बजार अनुगमनपछि धरानमा ग्यास अभाव नभएको प्रशासनको दाबी

बजार अनुगमनपछि धरानमा ग्यास अभाव नभएको प्रशासनको दाबी

धरान । इरानसँग इजरायल र अमेरिकाबीचको युद्ध लम्बिँदै गएसँगै पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास अभाव हुने हल्ला बजारमा फैलिएको भएपनि धरानमा अवस्था सामान्य रहेको प्रशासनले जनाएको छ।

ग्यासको अवस्थाबारे बुझ्न इलाका प्रशासन कार्यालय धरानले ग्यास डिलरहरूमा अनुगमन गरेको थियो। इलाका प्रशासन प्रमुख फडिन्द्र दाहालको नेतृत्वमा गरिएको अनुगमनमा धरानका करिब १० वटा ग्यास डिलरको अवस्था बुझिएको थियो।

अनुगमनपछि प्रशासनले ग्यास आपूर्ति सामान्य रहेको जनाएको छ। ‘हामी करिब १० वटा डिलरहरूमा गयौं, अवस्था सामान्य नै रहेको पाइयो,’ इलाका प्रशासन प्रमुख दाहालले भने, ‘ग्यास पाइएन भन्ने उपभोक्ता भेटिएन। ग्यास आपूर्ति भइरहेको छ, मानिसहरूले भने आवश्यकताभन्दा बढी स्टक लगेको पाइयो।’

इरानसँग इजरायल–अमेरिकाको युद्धका कारण पेट्रोलियम पदार्थ र ग्यास आपूर्तिमा अवरोध हुनसक्ने हल्लाका आधारमा बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रशासनले अनुगमन सुरु गरेको जनाएको छ। सरकारले खाना पकाउने ग्यास आधा सिलिन्डर मात्र बिक्री गर्न निर्देशन दिएपछि कम्पनीहरूले पनि सोहीअनुसार उपभोक्तालाई आधा सिलिन्डर मात्र बिक्री–वितरण गरिरहेको प्रशासनको भनाइ छ। ‘अनुगमन हाम्रो नियमित काम नै हो, आज ग्यासको मात्र गर्यौं, अन्य वस्तुमा पनि नियमित अनुगमन जारी राख्छौं,’ दाहालले भने।

यसैबीच जिल्ला प्रशासन कार्यालय सुनसरीले एलपी ग्यास उत्पादक, वितरक र डिलरहरूलाई विभिन्न ८ बुँदे निर्देशन जारी गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेद्वारा जारी सूचनामा निर्देशन विपरीत काम गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ। प्रशासनले एलपी ग्यासको अनावश्यक मौज्दात नराख्न, वितरण प्रणाली पारदर्शी बनाउन र पालो प्रणालीमार्फत उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन निर्देशन दिएको छ। त्यस्तै, नयाँ सिलिन्डर किन्न उपभोक्तालाई बाध्य पार्ने अवस्था सिर्जना नगर्न, एउटा कम्पनीको डिलरले अर्को कम्पनीको सिलिन्डर भण्डारण गरी बिक्री नगर्न तथा बजार मूल्यभन्दा बढी मूल्य नलिन पनि आग्रह गरिएको छ।

साथै, उद्योगबाट खरिद गरिएको ग्यासको परिमाण, बिक्री र मौज्दातको विवरण व्यवस्थित रूपमा राख्न तथा ग्यास बिक्री गरेपछि ग्राहकको नाम र सम्पर्क नम्बर अभिलेखमा राख्न पनि प्रशासनले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds