ताप्लेजुङ । सुर्खेतकी किशोरी इनिसा विकमाथि भएको बलात्कार तथा हत्या घटनाप्रति ध्यानाकर्षण गराउँदै ताप्लेजुङमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
पाथीभरा बहुमुखी क्याम्पसका विद्यार्थीहरूले सोमबार फुङलिङमा प्रदर्शन गर्दै पीडितलाई न्याय दिलाउन माग गरेका हुन्।
क्याम्पस सञ्चालक समिति अध्यक्ष शिला इजमले पीडितलाई न्याय दिलाउन समाजका सबै सचेत नागरिक संगठित भएर आवाज उठाउनुपर्ने आवश्यकता रहेको बताइन् । घटनाप्रति राज्य गम्भीर बन्नुपर्ने भन्दै उनले दोषीलाई कडा कारबाही गर्न माग गरिन् ।
प्रदर्शनमा क्याम्पस सञ्चालक समितिका पदाधिकारी, स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी तथा सदस्य, विभिन्न विद्यार्थी संगठनका अगुवा र विद्यार्थी सहभागी भएका थिए। उनीहरूले ‘खराब सोच भएका खबरदार, इनिसालाई न्याय दे’ लगायतका नारा लगाउँदै नगर परिक्रमा गरेका थिए।
तोक्मेडाँडाबाट सुरु भएको प्रदर्शन वीरेन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभापछि विद्यार्थीहरूले पुनः बजार क्षेत्रका विभिन्न भागमा प्रदर्शन गर्दै फेरि तोक्मेडाँडामा पुगेर कार्यक्रम समापन गरेका थिए। सो अवसरमा स्ववियु सभापति तिलबहादुर जोगी, सचिव लक्ष्मण पौडेललगायतले सम्बोधन गरेका थिए।
सुर्खेतको गुर्भाकोट नगरपालिका–६ घर भई वीरेन्द्रनगरस्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत १६ वर्षीया इनिसा विक फागुन २३ गते वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । आफन्तले उपचारका लागि प्रदेश अस्पताल कालागाउँ पुर्याए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो। विद्यार्थीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।