विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशकी कार्यवाहक सभापति गोमा तामाङ ‘सरिन’ ले पार्टीले सिफारिस गरेको समानुपातिक सांसदको सूचीप्रति असन्तुष्टि जनाएकी छन्।
तामाङले कोशी प्रदेशको भौगोलिक बनावट र जातीय क्लस्टर सूचीमा समेटिन नसकेको गुनासो गरेकी छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले कोशीको सन्दर्भमा पहाडी भूगोललाई छुटाउन नहुने सुझाव आफूले यसअघि नै दिएको उल्लेख गरेकी छन्।
तामाङले जान्ने, योगदान गर्ने र संगठनमा खटिएका व्यक्तिलाई प्राथमिकता दिनुपर्नेमा त्यस्तो नदेखिएको टिप्पणी गरेकी छन्। ओखलढुंगाकी शोभा कार्की, खोटाङकी गायिका सत्यकला राई र ताप्लेजुङकी मीरा लाबुङजस्ता नाम सूचीमा नसमेटिएकोप्रति उनले प्रश्न उठाएकी छन्।
केन्द्रीय नेताको पहुँच नजिक रहेका व्यक्तिहरूकै वरिपरि निर्णय सीमित हुँदा समानुपातिक सूचीमा आवश्यक सन्तुलन र प्रतिनिधित्व कायम हुन नसकेको उनको संकेत छ। यसले आगामी दिनमा संगठनभित्र असर पार्न सक्ने चेतावनीसमेत उनले दिएकी छन्।
गोमा तामाङ सुनसरी–१ मा हर्क साम्पाङसँग पराजित भएकी नेतृ हुन्। रास्वपाका तत्कालीन प्रदेश अध्यक्ष राजेश तिम्सिनामाथि कारबाही भएपछि उनी कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेकी छन्।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।