काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले निर्वाचनमा भएको ठूलो मतान्तरको हारलाई ‘फसाइएको’ भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हुने बताएका छन्। पार्टीको वर्तमान सञ्चालन पद्धति र कार्यशैलीप्रति गम्भीर असन्तुष्टि पोख्दै नेता पाण्डेले नेतृत्वलाई आत्मालोचना गर्न सुझाव दिएका हुन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पाण्डेले जनताले मतपत्रमार्फत स्पष्ट सन्देश दिइसकेपछि पनि त्यसलाई स्वीकार गर्न नसक्नु नेतृत्वको कमजोरी भएको उल्लेख गरेका छन्। उनले ४०–५० हजारको मतान्तरलाई षड्यन्त्र वा अन्तर्घातको नाम दिएर उम्किन नमिल्ने स्पष्ट पारेका छन्।
अन्तर्घात भए पनि त्यसले सीमित मत मात्र तलमाथि हुन सक्छ, तर देखिएको ४०–५० हजारको मतान्तरलाई ‘फसाइएको’ भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हो,’ उनले लेखेका छन्, ‘यो कुनै षड्यन्त्र होइन, यो एमालेको वर्तमान सञ्चालन पद्धति र हठलाई जनताले पूर्ण रूपमा ‘रिजेक्ट’ गरेको सन्देश हो।’
नेता पाण्डेले यति ठूलो नैतिक पराजयपछि पनि सत्य बोल्ने कार्यकर्तालाई कारबाहीको धम्की दिनुको कुनै अर्थ नरहेको बताएका छन्। उनले प्रश्न गरेका छन्, ‘आफ्नै कार्यकर्ताले सत्य बोलेको आधारमा कारबाहीको धम्की दिनु बुद्धिमानी हुँदैन। यति ठूलो पराजयपछि अरूलाई कारबाही गर्ने नैतिक आधार नेतृत्वसँग कति बाँकी छ?’
एमालेको पूर्ण संरचना र कार्यशैली अब ‘रिसेट’ गर्नुपर्ने बेला आइसकेको पाण्डेको तर्क छ। यस्तो गम्भीर अवस्थामा पनि ‘सबै ठिक थियो, हामीलाई फसाइयो’ भन्ने निष्कर्ष निकाल्नु आफैँलाई धोका दिनु मात्र हुने उनको भनाइ छ।
उनले चेतावनी दिँदै भनेका छन्, ‘अब पनि पार्टीले आफ्नो तरिका परिवर्तन गर्न सकेन र अरू असफल होलान् र फेरि हाम्रो पालो आउला भन्ने सोचमै अल्झिरह्यो भने त्यसले पार्टी र देश दुवैका लागि घातक परिणाम निम्त्याउनेछ।’

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।