विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधि सभाका लागि चार जना समानुपातिक सांसद चयन गरेको छ।
अध्यक्ष हर्क साम्पाङसहितका पदाधिकारीले शुक्रबार समानुपातिक सांसद टुंगो लगाएका हुन् ।
प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फ श्रम संस्कृति पार्टीले चार सांसद पाएको छ। पार्टीले खस आर्य महिलाबाट अम्बिका संग्रौला, दलितबाट सुर्खेतकी राधिका रम्तेल, आदिवासी जनजातिबाट पूर्ण लिम्बू र मधेसीबाट रुवीकुमारी ठाकुरलाई समानुपातिक सांसदमा चयन गरेको हो । लिम्बू पूर्व गोर्खा सैनिक हुन् ।
यसअघि समानुपातिक सांसदलाई लिएर श्रम संस्कृति पार्टीमा विवाद उत्पन्न भएको थियो । केही समानुपातिक उम्मेदवारले सामाजिक सञ्जालमार्फत आफूले पाउनुपर्ने माग गरेका थिए।
अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत नै विवाद गर्नेलाई पार्टीबाटै निकाल्ने चेतावनी दिएका थिए । आज भने सहमतिमै समानुपातिक सांसद चयन गरिएको जनाइएको छ।
भरखरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ सिट जितेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।