लोड हुँदैछ...

मेनु

पहिरोले भेडेटार–रवि–राँके सडक दुई दिनदेखि अवरुद्ध

पहिरोले भेडेटार–रवि–राँके सडक दुई दिनदेखि अवरुद्ध

धनकुटा । लगातार दुई दिनदेखि पहिरो जाँदा धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवि–राँके सडक अझै सञ्चालनमा आउन सकेको छैन।

सडक अन्तर्गत साँगुरीगढी गाउँपालिका–३ नाम्जे नजिक शुक्रबार बिहानदेखि पहिरो खसिरहेको हो।

सडकमा थुप्रिएको माटो र ढुंगा पन्छाउने प्रयास भएपनि शनिबार बिहानदेखि पुनः पहिरो खस्न थालेपछि समस्या झन् बढेको छ । प्रहरीका अनुसार करिब ३ सय मिटर क्षेत्रमा पहिरो थुप्रिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक निर्माणको जिम्मा लिएको भारतीय कम्पनी एप्को इन्फ्रा टेकले एक्स्काभेटर तथा जेसीबीलगायत उपकरण प्रयोग गरेर पहिरो हटाउने प्रयास गरिरहेको छ। तर, माथिबाट लगातार ढुंगा, माटो र रुख झर्न थालेपछि काम गर्न कठिन भइरहेको छ।

इलाका प्रहरी कार्यालय भेटेटारका प्रहरी नायब निरीक्षक रमेश प्रधानका अनुसार शनिबार बिहान पुनः पहिरो खसेपछि सडक खुलाउने काम प्रभावित भएको हो। सडक अवरुद्ध भएपछि रोकिएका सवारी साधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाइएको छ।

भेडेटार–रवि–राँके सडक धरान र धनकुटाबाट चौबिसे क्षेत्र हुँदै पाँचथरसम्म नियमित यातायात सञ्चालन हुने मुख्य मार्ग हो। पहिरोका कारण भने दुई दिनदेखि सो सडकमा सम्पूर्ण यातायात सेवा ठप्प रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।