धरान । सुर्खेत मा बालिका इनिशा बिक को बलात्कारपछि हत्या भएको घटनाको विरोधमा शुक्रबार धरान उपमहानगरपालिका क्षेत्रमा प्रदर्शन गरिएको छ।
धराने युवाको आयोजनामा गरिएको विरोध कार्यक्रममा नागरिक समाज, युवा–युवती तथा सर्वसाधारण स्वतःस्फूर्त रूपमा सहभागी भएका थिए।
‘बलात्कार र हत्याका विरुद्ध हाम्रो आवाज’ भन्ने मूल नारासहित सडकमा उत्रिएका प्रदर्शनकारीहरूले घटनामा संलग्न दोषीहरूलाई कडा कानुनी कारबाहीको दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन माग गरेका छन्। प्रदर्शनका क्रममा सहभागीहरूले बोकेको मुख्य ब्यानरमा ‘खबरदारी र्याली’ लेखिएको थियो।
उनीहरूले निर्दोष बालिकालाई न्याय दिनुका साथै यस्ता जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गर्न माग गरेका थिए। र्यालीमा सहभागीहरूले “स्टप रेप”, “वी वान्ट जस्टिस” र “बलात्कारीलाई फाँसी दे” लेखिएका प्लेकार्डसमेत प्रदर्शन गरेका थिए। महिला तथा बालबालिकाका लागि सुरक्षित समाज निर्माण गर्न राज्यले प्रभावकारी कदम चाल्नुपर्ने उनीहरूको माग थियो।
धरानको चतरा लाइनबाट सुरु भएको र्याली छाता चोक हुँदै भानुचोक पुगेर कोणसभामा परिणत भएको थियो। कृष्ण राई को संयोजकत्वमा आयोजित कार्यक्रमपछि मृतक बालिकाको आत्माको शान्तिको कामना गर्दै मौनधारणासमेत गरिएको थियो।
बढ्दो हिंसात्मक घटनाले समाजमा असुरक्षा बढाएको भन्दै प्रदर्शनकारीहरूले सरकार र सम्बन्धित निकायलाई मूकदर्शक नबन्न चेतावनी दिएका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।