धरान । निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको सिट सङ्ख्या निर्धारण गरेसँगै श्रम संस्कृति पार्टीभित्र सांसद बन्ने आकांक्षीहरूको तीव्र दौडधुप सुरु भएको छ।
समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवारहरूले सांसद बन्नका लागि दबाब बढाएपछि पार्टी अध्यक्ष हर्क साम्पाङलाई उम्मेदवार चयन ‘टाउको दुखाइ’ को विषय बनेको छ।
समानुपातिकतर्फ ४ सिट जितेको श्रम संस्कृति पार्टीभित्र सांसद बन्ने होडबाजी चलेपछि अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्नो आक्रोश पोखेका छन्। सुनसरी–१ बाट प्रत्यक्ष निर्वाचित सांसद समेत रहेका साम्पाङले फेसबुकमा लेखेका छन्, ‘भात खाऊ, मेरो टाउको नखाऊ।’
यतिमा मात्रै नरोकिई उनले सांसद पदका लागि दबाब दिनेहरूलाई कारबाहीको चेतावनी समेत दिएका छन्। उनले लेखेका छन्, ‘समानुपातिक विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्नेछु। हद भो ।’
पार्टीको बन्दसूचीमा रहेका केही सदस्यहरूले भने आफू नै सांसद बन्नुपर्ने दाबी गर्दै आएका छन्। आदिवासी जनजाति महिलातर्फ १६औँ नम्बरमा रहेकी समला साम्पाङ राईले अध्यक्ष साम्पाङले आफ्नो कुरा नसुनेको गुनासो पोखेकी छन्। उनले फेसबुकमा लेखेकी छन्, ‘दाजु हर्क साम्पाङ सँग कुरा गर्न खोज्दा ‘पर जा’ भन्नुहुन्छ। हरेक कुरामा बचाउ गर्ने मेरो कुरा किन सुनुवाइ भएन ? बाध्य भएर मिडियामा बोल्नुपर्यो।’ उनले पार्टीमा आफ्नो ठुलो योगदान रहेको दाबी गर्दै सांसद पदमा आफ्नो हक लाग्ने जिकिर गरेकी छन्।
त्यस्तै, आदिवासी जनजाति महिलातर्फकै तेस्रो नम्बरमा रहेकी आशा लामाले त सांसद नबनाइए हर्क साम्पाङको घरमै धर्ना बस्ने चेतावनी दिएकी छन्। उनी दबाब दिनकै लागि काठमाडौँबाट धरान आइपुगेकी छन्।
श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ सिट जितेको छ, जसमा अध्यक्ष हर्क साम्पाङसहित ध्रुवराज राई र आरेन राई छन्। यी तीनै जना आदिवासी जनजाति (पुरुष) क्लस्टरका हुन्।
संवैधानिक व्यवस्थाअनुसार सङ्घीय संसद्मा ३३.३३ प्रतिशत महिला सहभागिता अनिवार्य हुनुपर्छ। पार्टीले जितेका कुल ७ सिट ३ प्रत्यक्ष र ४ समानुपातिक मध्ये कम्तीमा ३ जना महिला हुनुपर्ने कानुनी बाध्यता छ। त्यसैले, समानुपातिकका ४ सिटमध्ये कम्तीमा ३ सिटमा महिला पठाउनुपर्ने देखिन्छ।
महिलाको कोटा मात्र नभई खस–आर्य, दलित, मधेशी, मुस्लिम, थारू लगायतका क्लस्टरहरू पनि मिलाउनुपर्ने हुँदा अध्यक्ष साम्पाङलाई नाम टुङ्गो लगाउन प्राविधिक रूपमा कठिन भएको छ। निर्वाचन आयोगले समानुपातिकबाट सांसद बन्नेहरूको अन्तिम नामावली बुझाउन दलहरूलाई तीन दिनको समय सीमा दिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।