विराटनगर । कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रबाट निर्वाचित संसदको लिष्टमा युवाहरूको वर्चस्व र नयाँ दलको बलियो उपस्थिति देखिएको छ ।
कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रबाट प्राप्त परिणामलाई हेर्दा यस पटक मतदाताले युवाहरुलाई नै प्राथमिकतामा राखेको देखिएको छ । कोशीमा ४० वर्ष मुनिका १० जना युवा उम्मेदवारले संसदको यात्रा तय गरेका छन् ।
झापा १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी २९ वर्षीया निशा डाँगी निर्वाचित भइन् । उनले नेपाली काँग्रेसका अनुभवी नेता केशव राज पाण्डेलाई पराजित गर्दै प्रदेशबाटै कान्छो उमेरमा प्रत्यक्ष संसद जित्ने अवसर प्राप्त गरिन् । डाँगीसँगै खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई पनि २९ वर्षकै उमेरमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका देवविक्रम राईलाई पराजित गरेर युवाहरूको प्रतिनिधित्वलाई मजबुत बनाएका छन् । यी दुई प्रतिनिधि यस पटकको निर्वाचनमा कोशी प्रदेशबाट विजयी हुने सबैभन्दा कान्छो उमेरका उम्मेदवार हुन् ।
हेभीवेट मानिने नेताहरूलाई पराजित गर्ने युवाहरूको सूची पनि निकै लामो छ । मोरङ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी ३१ वर्षीया रुविना आचार्यले नेपाली काँग्रेसका प्रभावशाली नेता डाक्टर शेखर कोइरालालाई पराजित गर्दै ऐतिहासिक जित हासिल गरिन् । त्यस्तै, झापा ५ मा सोही पार्टीका ३६ वर्षीय बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेर राजनीतिक वृत्तमा हलचल पैदा गरिदिए । झापा ३ मा ३७ वर्षीय प्रकाश पाठकले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पराजित गरे ।
यी नतिजाहरूले पुराना र स्थापित नेतृत्वमाथि युवा पुस्ताको सीधा चुनौती रहेको पुष्टि गर्दछ । मोरङका अन्य क्षेत्रहरूमा पनि युवाहरूकै बाहुल्यता देखियो । मोरङ ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका ३४ वर्षीय सन्तोष राजवंशीले काँग्रेसका गुरुराज घिमिरेलाई पराजित गरे ।
इलाम १ मा नेपाली काँग्रेसका ३५ वर्षीय निश्कल राईले श्रम संस्कृति पार्टीका ३७ वर्षीय विनोद नेम्बाङ लिम्बूलाई हराउँदै संसदको यात्रा तय गरे । इलाम २ मा नेकपा एमालेका ३६ वर्षीय सुहाङ नेम्वाङले काँग्रेसका भेषराज आचार्यलाई पराजित गरे । ताप्लेजुङबाट एमालेका ३८ वर्षीय क्षितिज थेबेले काँग्रेसका गजेन्द्र प्रसाद तुम्याङ लिम्बूलाई हराए भने सुनसरी २ मा ३९ वर्षीय लालविक्रम थापाले काँग्रेसका राजीव कोइरालालाई पराजित गरे ।
निर्वाचनमा ४० देखि ५० वर्षको उमेर समूहबाट पनि उल्लेख्य प्रतिनिधित्व भएको छ । मोरङ २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका ४० वर्षीय कृष्णकुमार कार्कीले एमालेका दिलिपकुमार अग्रवाललाई पराजित गरे भने मोरङ ३ मा सोही पार्टीका ४० वर्षीय गणेश कार्कीले काँग्रेसका सुनिलकुमार शर्मालाई हराए । उदयपुर १ मा ४० वर्षीय पारशमणि गेलालले श्रम संस्कृतिका राजेशकुमार राईलाई पराजित गरे ।
मोरङ १ मा ४१ वर्षीय यज्ञमणि न्यौपाने र उदयपुर २ मा ४१ वर्षीय सूर्यबहादुर तामाङले क्रमशः शान्ती पाख्रिन लामा र अम्बरबहादुर रायमाझीलाई पराजित गर्दै विजयको झण्डा गाडे । मोरङ ५ मा ४२ वर्षीया आशा झाले काँग्रेसका फुलकुमार लालवानीलाई र सुनसरी ३ मा ४२ वर्षीय अशोक चौधरीले काँग्रेसका पाका नेता विजयकुमार गच्छदारलाई पराजित गरे ।
श्रम संस्कृति पार्टीका तर्फबाट सुनसरी १ मा ४३ वर्षीय हर्कराज राईले रास्वपाकी गोमा तामाङलाई र भोजपुरमा ४३ वर्षीय ध्रुवराज राईले एमालेका शेरधन राईलाई पराजित गरे । तेह्रथुममा काँग्रेसका ४८ वर्षीय सन्तोष सुब्बाले एमालेका भानुभक्त ढकाललाई हराए । त्यस्तै सुनसरी ४ मा ४९ वर्षीय दीपककुमार साह र झापा ४ मा ५० वर्षीय शम्भुप्रसाद ढकालले पनि जित हासिल गरे ।
निर्वाचनमा सबैभन्दा बढी उमेरमा विजयी हुने प्रतिनिधिहरूमा संखुवासभाका ६२ वर्षीय अर्जुनकुमार कार्की र सोलुखुम्बुका ६२ वर्षीय प्रकाश सिंह कार्की रहेका छन् । एमालेका अर्जुनकुमारले रास्वपाका मिङमा शेर्पालाई र काँग्रेसका प्रकाश सिंहले नेकपाका अशिम राईलाई पराजित गरेका हुन् । ५० वर्ष माथिको उमेर समूहमा पाँचथरबाट ५३ वर्षीय नरेन्द्रकुमार केरुङ, झापा २ बाट ५५ वर्षीया इन्दिरा राना मगर, धनकुटाबाट ५९ वर्षीय राजेन्द्रकुमार राई र ओखलढुंगाबाट ५९ वर्षीय विश्वराज पोखरेल निर्वाचित भएका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।