विराटनगर । नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिकाकी उपाध्यक्ष मुना राईलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । पार्टीले आधिकारिक रूपमा प्रतिनिधिसभा निर्वाचनमा असहयोग गरेको आरोप लगाए पनि उपाध्यक्ष राईले भने गाउँपालिका अध्यक्षसँग मिलेर काम गरेका कारण आफूमाथि कारबाही भएको दाबी गरेकी छन् । बुधबार बसेको एमाले जिल्ला कमिटीको विस्तारित बैठकले राईलाई पार्टीबाट निकाल्ने निर्णय गरेको हो ।
आफूमाथि भएको कारबाहीबारे प्रतिक्रिया दिँदै उपाध्यक्ष राईले निर्वाचित भएको ६ महिनादेखि नै पार्टीभित्रबाट आफूलाई मानसिक दबाब दिन सुरु गरिएको बताएकी छन् । साँगुरीगढीका अध्यक्ष जितेन्द्र राई नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् भने राई एमालेबाट निर्वाचित भएकी थिइन् । पालिकामा फरक दलको नेतृत्व भए पनि जनताको काममा समन्वय गरेर अघि बढ्नुपर्ने आफ्नो मान्यता रहेका कारण पार्टी नेतृत्व आफूसँग रुष्ट भएको उनको भनाइ छ ।
‘पालिका अध्यक्ष कांग्रेसको र म एमालेको भए पनि हामी जनताका लागि काम गर्न आएका हौं, त्यसैले मिलेर काम गर्नुपर्छ भन्ने मेरो अडान रह्यो,’राईले भनिन्, ‘तर पार्टीका साथीहरूले कांग्रेसका अध्यक्षलाई सहयोग गर्नुहुँदैन, उनीसँग विद्रोह र झगडा गर्नुपर्छ भनेर दबाब दिइरहनुभयो । मैले विकासका काममा मिलेर जानुपर्छ भन्दा मलाई कांग्रेस भएको आरोप लगाइयो र अहिले त्यही निहुँमा कारबाही गरियो ।’ काम जे–सुकै होस्, तर अध्यक्षसँग मिलेर नजाओस् भन्ने पार्टीको चाहना विपरीत हिँडेकाले आफूमाथि प्रहार भएको उनले बताइन् ।
एमाले धनकुटाले राईमाथि चुनावमा अन्तर्घात गरेको र पार्टीलाई असहयोग गरेको आरोप लगाए पनि राईले भने यो सबै नियोजित षड्यन्त्र भएको दाबी गरेकी छन् । २०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित राई एमाले जिल्ला कमिटी सदस्यसमेत थिइन् । एमालेले राईसँगै अन्य केही नेता–कार्यकर्तामाथि पनि छानबिन भइरहेको जनाएको छ । गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष फरक दलको हुँदा विवाद गर्नुपर्ने पार्टीको निर्देशन नमानेकै कारण आफू कारबाहीमा परेको राईले बताइन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।