विराटनगर । राजनीतिमा नैतिकता र धरातलीय यथार्थको कति ठूलो खाडल हुन्छ भन्ने कुरा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणाम र त्यसपछि आएका राजनीतिक प्रतिक्रियाले प्रष्ट पारेको छ । यहि फागुन २१ गते सम्पन्न निर्वाचनको प्रत्यक्ष तर्फको मत गणना सकिएलगतै पूर्वमन्त्रीसमेत रहेका प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) अध्यक्ष परिषद्का सदस्य सुदन किरातीले सामाजिक सञ्जालमा एउटा लामो स्ट्याटस लेख्दै श्रम संस्कृति पार्टीका विजयी उम्मेदवारहरूलाई बधाईको ओइरो लगाए । तर, यो बधाईभित्र लुकेको तीतो यथार्थ र तथ्याङ्कको ऐना हेर्ने हो भने किरातीको पार्टीको अवस्था ‘हात्तीको मुखमा जिरा’ भन्दा पनि नाजुक देखिएको छ ।
निर्वाचनको अन्तिम नतिजा आएलगत्तै किरातीले फेसबुकमा लेखेका थिए, ‘हामीले श्रम संस्कृति पार्टीको उम्मेदवारहरूलाई सुनसरी–१, भोजपुर र खोटाङमा निःसर्त समर्थन गरेका थियौँ । निर्वाचित साथीहरूलाई हार्दिक बधाई !’ उनले अमुल्य भोट दिने नागरिकलाई अभिनन्दन गर्दै भोक, तिर्खा र निद्रा त्यागेर मैदानमा खट्ने महानुभावहरूलाई धन्यवाद पनि दिए । विजयी उम्मेदवारहरूलाई चुनावको समयमा जनतासँग गरेका वाचा पूरा गर्न सुझाव दिँदै उनले बाँकी दिनमा आफ्नो पार्टीको भूमिका रचनात्मक हुने दाबी समेत गरे । तर, रोचक र विडम्बनापूर्ण कुरा के छ भने, जुन उम्मेदवारलाई उनले ‘समर्थन’ गरेको र ‘जिताएको’ आशय व्यक्त गरे, ती क्षेत्रमा उनको आफ्नो पार्टीले पाएको मत परिणाम भने लज्जास्पद मात्र होइन, अस्तित्वहीन जस्तै देखिएको छ ।
तथ्याङ्कलाई केलाएर हेर्दा किरातीको दाबी कति फितलो छ भन्ने प्रष्ट हुन्छ । खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई १६ हजार ६१२ मत ल्याएर विजयी भइरहँदा, उनलाई ‘समर्थन’ गरेर्कोे प्रगतिशील लोकतान्त्रिक पार्टीले सोही जिल्लामा समानुपातिकतर्फ जम्मा ४० मत मात्र प्राप्त गरेको छ । १६ हजार भन्दा बढी मत ल्याएर जित्ने उम्मेदवारका लागि ४० मतको ‘समर्थन’ कति अर्थपूर्ण रह्यो होला ? यो आफैँमा एउटा ठूलो व्यङ्ग्य बनेको छ । त्यस्तै अवस्था सुनसरी–१ मा पनि देखिएको छ । त्यहाँ हर्क साम्पाङले ३५ हजार ७११ मतका साथ सानदार जित दर्ता गर्दा उनलाई सघाएको दाबी गर्ने प्रलोपाले जम्मा ७४ मतमा चित्त बुझाउनुपरेको छ । ३५ हजारको जनलहर भएको ठाउँमा ७४ मत ल्याउने पार्टीले ‘निःसर्त समर्थन’ को कार्ड खेल्नु राजनीतिक रूपमा निर्लज्जताको पराकाष्ठा बाहेक केही देखिँदैन ।
सबैभन्दा उदेकलाग्दो दृश्य त सुदन किरातीको आफ्नै गृहजिल्ला भोजपुरमा देखियो । भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुव राई १६ हजार ६६३ मतका साथ विजयी भए । तर, कुनै समय सोही क्षेत्रबाट निर्वाचित भएर मन्त्रीको कुर्सीमा समेत बसिसकेका किरातीको पार्टीले आफ्नो गढ मानिने भोजपुरमै जम्मा ४५० मत मात्रै बटुल्न सफल भयो । आफ्नै विरासत भएको जिल्लामा समेत ५०० मत कटाउन नसक्ने र शून्यप्रायः अवस्थामा पुगेको पार्टीले १६ हजार मत ल्याउने उम्मेदवारलाई ‘हामीले गर्दा जितेको’ शैलीमा बधाई दिनुले किरातीको राजनीतिक धरातल कति भत्किएको छ भन्ने पुष्टि गर्छ । जनताले श्रम संस्कृति पार्टीलाई पत्याइरहँदा प्रलोपालाई भने पूर्णतः तिरस्कार गरेको देखिन्छ ।
यो निर्वाचनमा श्रम संस्कृति पार्टीले कोशी प्रदेशमा आफ्नो छुट्टै र बलियो पहिचान स्थापित गरेको छ । प्रलोपा जस्ता ससाना दलको वैशाखीको कुनै आवश्यकता देखिँदैन । खोटाङमा श्रम संस्कृति पार्टी १८ हजार १३७ मतसहित प्रथम स्थानमा छ भने भोजपुरमा १६ हजार १५० मत र सुनसरी–१ मा ३२ हजार २३० मत प्राप्त गरेको छ । यति ठूलो जनमत भएको शक्तिलाई ४० र ७४ मत ल्याउने पार्टीले समर्थनको दाबी गर्नु राजनीतिक रूपमा हाँस्यास्पद भएको केहि राजनितिज्ञहरु बताउछन ् । कोशी प्रदेशको समानुपातिक मतको ट्रेण्ड हेर्ने हो भने श्रम संस्कृति पार्टीले स्थापित ठूला दलहरूलाई समेत धक्का दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ८ लाख ५३ हजार १८३ मतसहित पहिलो पार्टी बन्दा श्रम संस्कृति पार्टी २ लाख ९२ हजार ०४९ मतसहित दोस्रो स्थानमा उक्लिएको छ ।
पुराना र स्थापित शक्ति मानिने नेपाली कांग्रेस र नेकपा एमालेलाई समेत पछि पारेको छ । कांग्रेसले २ लाख ९० हजार ५६२ र एमालेले २ लाख ८८ हजार १८६ मत प्राप्त गर्दा नेकपा ९७ हजार ६७९ मतमा सीमित भएको छ ।
हर्कको समर्थनमा माहोल बनाउने प्रलोपाको बाकसमा खस्यो जम्मा ७४ मत




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।