लोड हुँदैछ...

मेनु

डा. शेखर कोइरालाद्वारा निर्वाचन खर्चको विवरण पेस, साढे २२ लाखभन्दा बढी खर्च

डा. शेखर कोइरालाद्वारा निर्वाचन खर्चको विवरण पेस, साढे २२ लाखभन्दा बढी खर्च

विराटनगर । मोरङ जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ६ बाट उम्मेदवार बनेका डा. शेखर कोइरालाले आफ्नो निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन्।

प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय मोरङमार्फत बुझाइएको विवरणअनुसार उनले चुनावको अवधिमा कुल २२ लाख ३१ हजार ८८ रुपैयाँ खर्च गरेका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम उक्त खर्च विवरण प्रस्तुत गरिएको हो।

कोइरालाका निर्वाचन प्रतिनिधि विकास थापाले हस्ताक्षर गरी बुझाएको खर्च विवरणमा सबैभन्दा धेरै रकम प्रचारप्रसार सामग्री छपाइमा खर्च भएको देखाइएको छ। मतदाता नामावली, नमुना मतपत्र, पर्चा, पम्प्लेट, स्थानीय घोषणापत्र, झण्डा र फ्लेक्सलगायतका सामग्री छपाउनका लागि मात्रै १६ लाख ४६ हजार ६०९ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

यस्तै इन्धनमा १ लाख १६ हजार ३१९ रुपैयाँ, प्रचारप्रसारका लागि १ लाख १३ हजार रुपैयाँ र स्टेशनरी (कलम, स्टेपलर, फाइल, फोटोकपी पेपर, प्रिन्टर, रिफिलिङलगायत) खरिदमा १ लाख ४ हजार ५०० रुपैयाँ खर्च भएको छ। यसैगरी, चुनावको समयमा खाजा र खानामा ९६ हजार ६६० रुपैयाँ, पार्टी, भातृ एवं शुभेच्छुक संस्था परिचालन गर्न यातायाततर्फ ७९ हजार रुपैयाँ, प्रचार कार्यालय सञ्चालनका लागि टेन्ट भाडामा ४० हजार रुपैयाँ र आवश्यकताअनुसारको मसलन्दका लागि ३५ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

उक्त निर्वाचन प्रयोजनका लागि कोइरालाले विराटनगरस्थित एनआईसी एसिया बैंकमा खाता खोलेर सम्पूर्ण आर्थिक कारोबार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।