लोड हुँदैछ...

मेनु

राहदानी सेवा एक सातासम्म बन्द हुन सक्ने

राहदानी सेवा एक सातासम्म बन्द हुन सक्ने

काठमाडौँ । परराष्ट्र मन्त्रालय मातहतको राहदानी विभागले नयाँ प्रणाली जडान गर्ने क्रममा राहदानी वितरण सेवा केही दिनका लागि बन्द हुन सक्ने जनाएको छ । विभागले पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली सुरु गर्न लागेकाले सेवामा केही समय अवरोध आउने स्पष्ट पारेको हो । विभागले जारी गरेको सूचनाअनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म बन्द हुन सक्छ । यद्यपि, राहदानी विभाग आफैँले प्रदान गर्ने सेवा भने एक हप्तासम्म अवरुद्ध हुन सक्ने सूचनामा उल्लेख छ ।

नयाँ प्रणाली जडान एवं कार्यान्वयन भएपछि त्यसलाई पूर्ण रूपमा स्थिर हुन एकदेखि तीन महिनासम्म लाग्ने देखिएको छ । यस अन्तरिम अवधिमा जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरूबाट आवेदन दिँदा राहदानी तयार भई जारी हुन हालको भन्दा बढी समय लाग्न सक्ने विभागले जनाएको छ । विभागले नयाँ प्रणाली जडानको प्रक्रिया अगाडि बढाइसकेकाले आगामी पाँच महिनाभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई अन्तरिम अवस्था सुरु हुनुअघि नै आवेदन दिन र राहदानी लिन आग्रह गरेको छ । नयाँ प्रणाली सञ्चालनमा आउने निश्चित मिति र थप विवरण भने विभागले निकट भविष्यमा अर्को सूचनामार्फत जानकारी दिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।