लोड हुँदैछ...

मेनु

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

काठमाडौँ । नेपालमा हाल एकसाथ तीनवटा मौसम प्रणालीको प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी क्षेत्रनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । यी प्रणालीका कारण आज (शुक्रबार) देशभरको मौसममा बदली आई धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज बिहानैदेखि बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ भने तराईका केही स्थानमा हुस्सु लागेको छ ।

महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोशी प्रदेशलगायत बाँकी पहाडी र हिमाली क्षेत्रको आकाशमा साधारणतया बादल लाग्नेछ भने देशका बाँकी स्थानमा आंशिक बादल लाग्नेछ । यस क्रममा कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । यस्तै, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपात हुनेछ । कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका साथै बागमती र गण्डकी प्रदेशको तराईका एक–दुई स्थानमा पनि मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैबिच आज काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद् बिनु महर्जनले जानकारी दिइन् । उनका अनुसार हिजोको तुलनामा आज वर्षाको मात्रा भने केही कम हुने देखिएको छ ।

त्यस्तै आज राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने बाँकी स्थानमा आंशिक बादल लाग्नेछ । यस क्रममा कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान र बागमती प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । वर्षा र हिमपातका कारण हुनसक्ने चिसो र अन्य वातावरणीय प्रभावबाट बच्न महाशाखाले सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।