लोड हुँदैछ...

मेनु

ग्यास अभावपछि आधा सिलिन्डर मात्रै बजारमा पठाउने आयल निगमको निर्णय, मूल्य ९५५ रुपैयाँ

ग्यास अभावपछि आधा सिलिन्डर मात्रै बजारमा पठाउने आयल निगमको निर्णय, मूल्य ९५५ रुपैयाँ

काठमाडौं । ग्यासको आपूर्तिमा समस्या देखिन थालेपछि नेपाल आयल निगमले बजारमा आधा सिलिन्डर मात्रै पठाउने निर्णय गरेको छ। निगमले भोलि शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि प्रतिसिलिन्डर ७.१ केजी एलपी ग्यास मात्रै वितरण गर्ने व्यवस्था लागू गर्ने जनाएको छ।

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार आधा सिलिन्डर ग्यासको मूल्य ९५५ रुपैयाँ तोकिएको छ, जुन साविक मूल्यको आधा हो। उनका अनुसार यो व्यवस्थाले ग्यासको सीमित आपूर्ति धेरै उपभोक्तासम्म पुग्ने विश्वास गरिएको छ।

भट्टका अनुसार पहिले एउटै सिलिन्डर वितरण हुँदा सीमित संख्याका उपभोक्ताले मात्रै ग्यास पाउँथे भने अब आधा सिलिन्डर वितरण गर्दा सोही परिमाणको ग्यासबाट दोब्बर उपभोक्ताले सेवा लिन सक्नेछन्। यसले आवश्यकताभन्दा बढी ग्यास थुपारेर राख्ने प्रवृत्ति पनि कम हुने निगमको दाबी छ।

पछिल्ला केही महिनादेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा ग्यास अभावको समस्या देखिँदै आएको छ। बिहीबारदेखि नै काठमाडौंको बालाजु औद्योगिक क्षेत्रलगायत ठाउँमा ग्यास लिन जाने उपभोक्ताको लामो लाइन देखिन थालेको छ।

निगमले बजारमा ग्यास अभाव नरहेको बताउँदै आए पनि माग बढेको र केही उपभोक्ताले आवश्यकता भन्दा बढी ग्यास भण्डारण गर्ने प्रवृत्तिले वितरणमा दबाब परेको जनाएको छ।

अन्तर्राष्ट्रिय स्तरमा बढ्दो तनावका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा समेत प्रभाव परेको छ। अमेरिका र इसराइलले संयुक्त रूपमा इरानमाथि आक्रमण बढाएपछि तेल ढुवानी हुने प्रमुख मार्ग होर्मुज जलडमरूमा अवरोधको जोखिम बढेको खबरहरू सार्वजनिक भइरहेका छन्।

नेपालले पेट्रोलियम पदार्थ भारतमार्फत आयात गर्छ। नेपाल आयल निगमले भारत सरकारको स्वामित्वमा रहेको इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल, डिजेल र एलपी ग्यास ल्याउँदै आएको छ। भारतले प्रयोग गर्ने एलपी ग्यासको ठूलो हिस्सा साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र कतारबाट आयात हुने भएकाले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा समस्या आउँदा यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।