विराटनगर । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा ठूलो संख्यामा मत बदर भएको छ।
मतदाताले स्वस्तिक छाप लगाएर मतपेटिकामा खसालेका मतमध्ये ठूलो संख्या कुनै पनि उम्मेदवारको पक्षमा गणना हुन नसकी बदर भएको हो।
प्रदेश निर्वाचन कार्यालय विराटनगर का अनुसार प्रदेशभर १ लाख ३० हजार ८४७ मत बदर भएको छ। यो भनेको कुल खसेको मतको ६.२८ प्रतिशत हो ।
निर्वाचनमा कोशी प्रदेशका १४ जिल्लाका २८ निर्वाचन क्षेत्रबाट २० लाख ८४ हजार २१९ मत खसेको थियो। तीमध्ये १९ लाख ५३ हजार ३७२ मत मात्रै सदर भएको छ भने बाँकी १ लाख ३० हजार ८४७ मत बदर भएको कार्यालयले जनाएको छ।
सबैभन्दा धेरै मोरङ क्षेत्र नं. ५ मा १०.४४ प्रतिशत मत बदर भएको छ । ७५ हजार ५६५ मत खसेको सो क्षेत्रमा ७ हजार ८८९ मत बदर भएको छ ।
निर्वाचन अधिकारीहरूका अनुसार मतपत्रमा मतदाताले गर्ने सामान्य त्रुटिका कारण अधिकांश मत बदर हुने गरेका छन्। धेरैजसो मतदाताले स्वस्तिक छाप स्पष्ट रूपमा नलगाउनु, एकभन्दा बढी उम्मेदवारको चुनाव चिन्हमा छाप लगाउनु वा मतपत्र गलत तरिकाले प्रयोग गर्नुजस्ता कारणले मत बदर हुने गरेको छ। दुई छाप लगाउनुपर्नेमा मतदाताले एउटै मतपत्रमा दुईवटा छाप लगाएको पाइएको छ ।
ठूलो संख्यामा मत बदर हुनु मतदान प्रक्रियामा रहेका कमजोरी र मतदाता सचेतनाको अभावतर्फ पनि संकेत गर्ने सरोकारवालाहरू बताउँछन्। मतदानअघि निर्वाचन आयोग नेपाल ले वडा–वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि ठूलो संख्यामा मत बदर भएपछि ती कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठेको छ।
जिल्लागत रूपमा ताप्लेजुङमा २ हजार ६८६, पाँचथरमा ३ हजार ८९७, इलाम–१ मा ४ हजार ५६६ र इलाम–२ मा ३ हजार ८९५ मत बदर भएको छ। झापाका विभिन्न निर्वाचन क्षेत्रमा पनि बदर मत उल्लेख्य देखिएको छ। झापा–१ मा ४ हजार २६९, झापा–२ मा ४ हजार ४६९, झापा–३ मा ५ हजार ६२९, झापा–४ मा ४ हजार ७६८ र झापा–५ मा ४ हजार २१९ मत बदर भएको छ ।
पहाडी जिल्ला संखुवासभामा ३ हजार ७८०, तेह्रथुममा १ हजार ९०९, भोजपुरमा ३ हजार ८७१ र धनकुटामा ४ हजार ८८३ मत बदर भएको छ। मोरङमा बदर मतको संख्या अझ धेरै छ। मोरङ–१ मा ४ हजार ८३७, मोरङ–२ मा ६ हजार ५०, मोरङ–३ मा ६ हजार ८२७, मोरङ–४ मा ५ हजार २५६, मोरङ–५ मा ७ हजार ८८९ र मोरङ–६ मा ५ हजार ६४४ मत बदर भएको छ ।
सुनसरीमा पनि उल्लेखनीय बदर मत देखिएको छ। सुनसरी–१ मा ४ हजार ४८९, सुनसरी–२ मा ६ हजार २२९, सुनसरी–३ मा ५ हजार ६११ र सुनसरी–४ मा ६ हजार ६७४ मत बदर भएको छ। त्यस्तै सोलुखुम्बुमा १ हजार ९९०, खोटाङमा ३ हजार ९२८, ओखलढुंगामा ३ हजार ३५६, उदयपुर–१ मा ५ हजार ५४७ र उदयपुर–२ मा ३ हजार ६७३ मत बदर भएको छ।
प्रदेशभर सबैभन्दा कम बदर मत झापा–५ मा देखिएको छ, जहाँ ३.९६ प्रतिशत मात्रै मत बदर भएको छ। मतदाताले मतदान प्रक्रिया राम्रोसँग बुझेका वा निर्वाचन व्यवस्थापन प्रभावकारी भएका क्षेत्रमा बदर मत कम हुने देखिएको छ।
सरोकारवालाहरूका अनुसार ठूलो संख्यामा मत बदर हुनु लोकतान्त्रिक प्रक्रियाका लागि चिन्ताजनक विषय हो। मतदाताले मतदान गरे पनि अन्ततः त्यो मत गणनामा समावेश नहुनु लोकतान्त्रिक सहभागिताको प्रभावकारितामा असर पार्ने विषय भएको उनीहरूको भनाइ छ।
मतदातालाई मतदान प्रक्रिया, मतपत्र प्रयोग गर्ने तरिका तथा वैध मत कसरी दिने भन्ने विषयमा अझ व्यापक जनचेतना आवश्यक रहेको देखिएको छ। नमुना मतपत्रमार्फत अभ्यास गराउने र मतदाता शिक्षा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने हो भने आगामी निर्वाचनमा बदर मतको संख्या घटाउन सकिने सरोकारवालाहरूको धारणा छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।