विराटनगर । उदयपुर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको पाइएको छ।
फागुन २१ गते भएको निर्वाचनमा तामाङ १४ हजार ८०२ मतसहित विजयी हुँदा एमालेका अम्बरबहादुर रायामाझीले ७ हजार ६४८ मत ल्याएका थिए।
सो क्षेत्रमा नेपाली कांग्रेसका रामकुमार राईले ७ हजार २९०, नेपाली कम्युनिस्ट पार्टीका सुरेश कुमार राईले ५ हजार १९७ र श्रम संस्कृति पार्टीका वलराज राईले ४ हजार १३९ मत पाएका छन्। निर्वाचन परिणाम घोषणा भएपछि तामाङ कालोसूचीमा रहेको तथ्य सार्वजनिक भएको हो ।
कर्जा सूचना केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार तामाङ संलग्न कम्पनी मकालु कान्जिरुवा अटो लिंक प्रालि चेक बाउन्स प्रकरणमा कालो सूचीमा परेको हो । केन्द्रको अभिलेखअनुसार सो कम्पनीको नाम कालो सूचीको १०१,५१४ नम्बरमा छ।
कम्पनीको सञ्चालक सूर्यबहादुर तामाङ र लीला राई हुन् । सिआईबीले आफ्नो वेबसाइटमा नै तामाङको नाम सार्वजनिक गरेको छ । उनी बद्नाम कम्पनी मकालु काञ्जीरुवा अटो लिंकका सञ्चालक हुन् । उनको कम्पनीले खातामा पैसा नभएको चेक दिने, ऋण नतिर्ने जस्ता कारणले बद्नाम छ ।
कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको पुष्टि भएपछि निर्वाचन आयोगले धनुषा १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी नै खारेज गरेको थियो।
साहको उम्मेदवारी खारेज भएपछि सो क्षेत्रबाट नेकपाका मातृकायादव निर्वाचित भइसकेको छन्। यद्यपी मतगणनामा भने साहले धेरै मत पाएको बताइएको छ । आफ्नो उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध साहले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।
सर्वोच्च अदालतले धनुषा १ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेजसम्बन्धी निर्णयको फाइलसहित यही फागुन २९ गते उपस्थित हुन निर्वाचन आयोगलाई निर्देशनसमेत दिएको छ। धनुषाको उम्मेदवारी खारेज गरेको र तामाङ निर्वाचित भइसकेको सन्दर्भमा अब के हुन्छ भन्ने अन्यौल देखिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।