लोड हुँदैछ...

मेनु

निर्वाचनको परिणाम सोचेजस्तो आएन, जनताको फैसला शिरोधार्य छ: अध्यक्ष ओली

निर्वाचनको परिणाम सोचेजस्तो आएन, जनताको फैसला शिरोधार्य छ: अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणाम आफ्नो अपेक्षाअनुसार नआएको स्वीकार गरेका छन् । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै उनले निर्वाचनको नतिजालाई पूर्ण रूपमा स्वीकार गर्ने र जनताको फैसलालाई शिरोधार्य गर्ने बताएका हुन् ।

अध्यक्ष ओलीले निर्वाचनमा आफू र पार्टी दुवैले सोचेजस्तो सफलता प्राप्त गर्न नसकेको उल्लेख गर्दै लोकतन्त्रमा जनताको निर्णय नै अन्तिम हुने बताएका छन् । उनले लेखेका छन्, ‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ । हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन । लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो । जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु ।’

निर्वाचनको परिणाम प्रतिकूल रहे पनि जनताप्रतिको आफ्नो र पार्टीको सेवाभावमा कुनै कमी नआउने उनले स्पष्ट पारेका छन् । ‘निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन । तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन । हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ, उनले सन्देशमा उल्लेख गरेका छन् ।

यसै क्रममा उनले कठिन परिस्थितिमा पनि सूर्य चिह्नमा मतदान गर्ने मतदाता, पार्टीका नेता–कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति हृदयदेखि आभार प्रकट गरेका छन् । समर्थकहरूको विश्वास र साथ नै आफ्नो मुख्य शक्ति भएको बताउँदै उनले आगामी दिनमा जनतासँगको सम्बन्धलाई थप प्रगाढ बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।