काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज देशका अधिकांश पहाडी तथा हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान बुलेटिन अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमका पहाडी भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भागमा आंशिक बादल रहने अनुमान गरिएको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ । यसैगरी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भाग तथा मधेश प्रदेशका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ ।
आज रातिको मौसमका सम्बन्धमा विभागले कोशी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बादल रहने र बाँकी भागमा आंशिक बादल रहने जानकारी दिएको छ । राति कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थानहरूमा वर्षा वा हिमपातको सम्भावना छ ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।