विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरी राखिएका ६ वटा बसमा गएराति आगलागी भएको छ । आगलागीबाट तीनवटा बस पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने अन्य तीनवटामा आंशिक क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार को.१ ख ६२७४, प्रदेश १–०१–००१ ख ४०३७ र बा.४ ख ५७५९ नम्बरका यात्रुवाहक बसहरू पूर्ण रूपमा जलेका छन् । यस्तै, को.१ ख ३८४७, बा.५ ख ५८१४ र बा.५ ख ५८०९ नम्बरका बसमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी एवं सूचना अधिकारी चन्द्र खड्काले जानकारी दिए ।
आगलागीको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरे पनि प्रारम्भिक रूपमा विद्युतीय सर्ट वायरिङ सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । घटनास्थलको सीसीटीभी फुटेज जाँच गर्दा कुनै व्यक्तिको शंकास्पद संलग्नता नदेखिएको प्रहरीले जनाएको छ ।
फुटेजअनुसार धरान–विराटनगर रुटमा चल्ने को.१ ख ६२७४ नम्बरको बसको इन्जिन बोनेट बाट आगो सुरु भएको देखिएको छ । सोही बसबाट सल्केको आगोले नजिकै रहेका अन्य गाडीहरूमा पनि क्षति पुर्याएको हो ।
यातायात व्यवसायी सरोज श्रेष्ठले विराटनगरबाट अन्तिम ट्रिप सकेर राति ९ बजेतिर आएको गाडी ग्यारेजमा पार्क गरेर चालक र सहचालकहरू निस्किएपछि आगलागी सुरु भएको बताए । प्रहरीले घटनाको थप प्राविधिक पक्षबारे अनुसन्धान भइरहेको जनाएको छ । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।