लोड हुँदैछ...

मेनु

रास्वपाले एकलौटी नतिजा बनाउँदा एमालेलाई बढी क्षति

रास्वपाले एकलौटी नतिजा बनाउँदा एमालेलाई बढी क्षति

विराटनगर । प्रतिनिधिसभाको फागुन २१ गते भएको निर्वाचनको समानुपातिक तर्फको पनि मतगणना सम्पन्न भइसकेको छ । निर्वाचन आयोगका अनुसार खसेको मतमध्ये १ करोड ७ लाख ६९ हजार ५४३ मत सदर हुँदा ६ वटा पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गर्दै समानुपातिक सिट हातपार्ने भएका छन् । थ्रेस होल्ड नकटाएको कारण विभिन्न राजीनितिक दलहरुले प्राप्त गरेको ८ लाख ८७ हजार ५४९ मत गणनामा नआउने भएको छ ।

जम्मा सदर मतको आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५१ लाख ८१ हजार ३३० मत अर्थात् ४७.८ प्रतिशत पाएको छ । यस्तै नेपाली कांग्रेसले १७ लाख ५८ हजार ९०३ अर्थात् १६.२ प्रतिशत, नेकपा एमालेले १४ लाख ५५ हजार ६६९ अर्थात् १३.४ प्रतिशत, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ८ लाख ११ हजार ३९३ अर्थात् ७.५ प्रतिशत, श्रम संस्कृति पार्टीले ३ लाख ८५
हजार ८५२ अर्थात् ३.५ प्रतिशत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ लाख ३० हजार ६४९ अर्थात् ३ प्रतिशत मत पाएका छन् ।

थ्रेस होल्डको गणनामा आएका ६ वटा पार्टीको जम्मा मतलाई आधार मानेर ११० सिट छुट्याउँदा भने राष्ट्रिय स्वतन्त्र पार्टीले मात्रै ५२ प्रतिशत सिट अर्थात् ५७ सिट पाउने देखिएको छ । यस्तै काँग्रेसले १७.७५ प्रतिशत अर्थात् २० सिट, नेकपा एमालेले १४.७ प्रतिशत अर्थात् १६ सिट, नेपाली कम्युनिष्ट पार्टीले ८ प्रतिशत अर्थात् ९ सिट, श्रम संस्कृति पार्टीले ३.८ प्रतिशत अर्थात् ४ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३.३ प्रतिशत अर्थात् ४ सिट पाउने देखिएको छ ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले सबैभन्दा बढी २८ लाख ४५ हजार ६४१ मत प्राप्त गरी ३४ सिट जितेको थियो । यो पटक एमालेले ४९ प्रतिशत (१३ लाख ८९ हजार ९७२) मत गुमाएको छ भने ५२ प्रतिशत सिट गुमाएको छ । एमालेले यस पटक समानुपातिकमा १६ सिट पाउने देखिएको छ ।

गत निर्वाचनमा २७ लाख १५ हजार २२५ मत प्राप्त गरी ३२ सिट जितेको काँग्रेसले ३५.५६ प्रतिशत (९ लाख ५६ हजार ३२२) मत गुमाएको छ भने ३७.५ प्रतिशत सिट संख्या पनि गुमाएको छ । यो पटक काँग्रेसले समानुपातिक तर्फ २० सिट पाएको छ ।

नेपाली कम्युनिष्ट पार्टीले गत निर्वाचनमा ११ लाख ७५ हजार ६८४ (३ लाख ६४ हजार २९१) मत प्राप्त गरी १४ सिट जितेकोमा ३१ प्रतिशत मत गुमाएको छ भने ३५.७ प्रतिशत सिट गुमाउँदै ९ सिटमा कायम भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले गत निर्वाचनमा ५ लाख ८८ हजार ८४९ (२ लाख ५८ हजार २००) मत प्राप्त गरी ७ सिट जितेकोमा यस पटक ४४ प्रतिशत मत गुमाएको छ भने ४२.८ प्रतिशत सिट गुमाउँदै ४ सिटमा कायम भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गत निर्वाचनमा ११ लाख ३० हजार ३४४ मत प्राप्त गर्दै १३ वटा समानुपातिक जितेकोमा यस पटक ३५४ प्रतिशत अर्थात् ४० लाख ५० हजार ९८६ मत थपेर सिट संख्या ५७ पुर्याएको छ । यस पटक उसले ४४ सिट थपेको छ ।

अघिल्लो निर्वाचनमा ४ लाख २१ हजार ३१४ समानुपातिक मत प्राप्त गरी ५ सिट जितेको जनता समाजवादी पार्टी, ३ लाख ९४ हजार ६५५ मत प्राप्त गरी ५ सिट प्राप्त गरेको जनमत पार्टीले यस पटक थ्रेस होल्ड पार गर्न सकेनन् ।

यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फभन्दा प्रत्यक्षतर्फ अझै उत्कृष्ट नतिजा ल्याएको छ । अघिल्लो निर्वाचनमा सो पार्टीले प्रत्यक्षमा जम्मा ७ सिट जितेको थियो । यो पटक १६८६ प्रतिशत अर्थात् ११८ सिट थपेर १२५ वटा जितेको छ । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ सबैभन्दा धेरै ५७ सिट जितेको नेपाली काँग्रेसले यस पटक ६८ प्रतिशत अर्थात् ३९ सिट गुमाएर १८ सिटमा सिमीत भएको छ ।

यस्तै प्रत्यक्षतर्फ अघिल्लो पटक ४४ सिट जितेको नेकपा एमालेले यस पटक करिब ८० प्रतिशत सिट गुमाएको छ । उसले ३५ सिट गुमाएर ९ सिटमा सिमीत भएको छ । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ १८ सिट जितेको नेकपाले ५५ प्रतिशत सिट अर्थात् १० सिट गुमाएर ८ सिटमा सिमीत भएको छ । यस्तै अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रपाले यस पटक ६ सिट गुमाएर जम्मा १ सिट जितेको छ । यो निर्वाचनको लागि खुलेको नयाँ दल श्रम संस्कृति पार्टीले प्रत्यक्षमा ३ सिट जित्दा अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ सिट जितेका जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले कुनै पनि सिट जित्न सकेनन् ।

समानुपातिक तर्फकोसमेत मतगणना सम्पन्न हुँदा २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीले २ तिहाइ भन्दा २ सिट कम जित निकालेको छ । प्रत्यक्षतर्फ १२५ र समानुपातिक तर्फ ५७ सिट जितेर १८२ सिट जितेको रास्वपालाई दुई तिहाई अर्थात् १८४ सिट पुग्न २ सिट अपुग भएको छ । यो निर्वाचनबाट दोस्रो ठूलो भएको नेपाली काँग्रेसले प्रत्यक्ष र समानुपातिकबाट जम्मा ३८ सिट जितेको छ । अघिल्लो निर्वाचनमा काँग्रेसले जम्मा ८९ सिट जितेको थियो । यस्तै नेकपा एमालेले प्रत्यक्ष र समानुपातिकतर्फ गरी २५ सिट जितेको छ । अघिल्लो निर्वाचनमा एमालेले ७९ सिट जितेको थियो ।

अघिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी ३२ सिट जितेको तत्कालिन माओवादी अर्थात् हालको नेकपाले प्रत्यक्ष र समानुपातिक १७ सिट जितेको छ । अघिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी १४ सिट जितेको राप्रपाले यस पटक जम्मा ५ सिटमा सिमीत भएको छ । नयाँ खुलेको दल श्रम संस्कृति पार्टीले प्रत्यक्ष र समानुपातिक गरी यो निर्वाचनमा ७ सिट जित्दा म्याग्दीबाट स्वतन्त्र उम्मेद्वार महावीर पुन प्रतिनिधिसभामा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।