लोड हुँदैछ...

मेनु

ओलीले हारे इलाम छाड्ने बताएका नेम्वाङ पुख्र्यौली थलो पाँचथर फर्किए

ओलीले हारे इलाम छाड्ने बताएका नेम्वाङ पुख्र्यौली थलो पाँचथर फर्किए

विराटनगर । नेकपा एमालेका समर्थक रहेका इलामका जगतबहादुर नेम्वाङले चुनावअघि दिएको बचन पूरा गर्दै जिल्ला छाडेका छन् ।

निर्वाचनअघि टिकटकमा रमेश बुढाथोकीसँगको संवादमा नेम्वाङले एमाले अध्यक्ष ओली चुनावमा पराजित भए आफू इलाम जिल्ला छाड्ने बताएका थिए।

निर्वाचन परिणामपछि उनले आफ्नो भनाइअनुसार इलाम छाडेर पाँचथर पुगेको बताएका छन्। इलाम नगरपालिका–१० मा बस्दै आएका नेम्वाङ एमाले इलाम नगर कमिटीका सदस्य हुन्। उनले आफूले बोलेको कुरा पूरा गर्नुपर्ने भन्दै पुर्ख्यौली थलो फर्किएको बताए।

अहिले उनी फाल्गुननन्द गाउँपालिका–७ सिलिन्दिङमा पुगेका छन्। सिलिन्दिङ उनको पुर्ख्यौली गाउँ हो, जहाँबाट उनी पहिले इलाम झरेका थिए।

नेम्वाङका दुई छोरा र एक छोरी छन्। कान्छो छोरा भारतीय लाहुरे रहेका छन् भने जेठो छोरा व्यापार–व्यवसायमा संलग्न छन्। उनले हाल आफू मात्रै पाँचथर फर्किएको र परिवारका अन्य सदस्य भने इलाममै बस्ने बताएका छन् ।

पाँचथरमा पनि आफ्नै जग्गाजमिन भएकाले अब त्यही बस्ने योजना रहेको नेम्वाङको भनाइ छ । पार्टी सदस्यता पाँचथर सार्ने विषयमा भने अहिले सल्लाह भइरहेको उनले बताए।

नेम्वाङले राजनीतिमा बचनको पक्का नहुँदा जनतामा निराशा बढेको टिप्पणी गर्दै नेता भएपछि बोलेको कुरा पूरा गर्नुपर्ने बताए। ‘राजनीतिमा बचनको पक्का नभएकै कारण जनतामा निराशा बढेको छ। नेता भएपछि बोलेको कुरा पूरा गर्नुपर्छ, म बचनको पक्का छु,’ उनले भने।

जिल्ला छाडे पनि आफू एमालेको राजनीतिबाट टाढा नहुने नेम्बाङको भनाइ छ। उनले आफू एमालेमै रहने र पार्टीका गतिविधिमा सक्रिय रहने बताए। परिवार इलाममै बस्ने भएकाले इलाम आउने–जाने भने भइरहने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।