विराटनगर । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचन परिणामले नेपालको परम्परागत राजनीतिक मानचित्रलाई पूर्णतः फेरबदल गरिदिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, मुलुकमा दशकौंदेखि जरो गाडेर बसेका स्थापित दलहरूलाई किनारा लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अकल्पनीय सफलता हासिल गरेको छ । यस नतिजालाई राजनीतिक विश्लेषकहरूले ‘जेनजी’ आन्दोलन’ को राजनीतिक प्रतिविम्बका रूपमा लिएका छन् ।
कुल १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपाले ७१ प्रतिशत अर्थात् १२५ स्थानमा जित हात पार्दै ऐतिहासिक रेकर्ड कायम गरेको छ । २०७९ को निर्वाचनमा प्रत्यक्ष तर्फ मात्र ८ सिटमा सीमित रास्वपाले यसपटक थप ११७ क्षेत्रमा जित निकाल्नुले मतदातामा मत परिवर्तनको तीव्र चाहना कतिसम्म बढेको रहेछ भन्ने कुरालाई स्पष्ट गरेको छ ।
यसको ठीक विपरीत, मुलुकका दुई ठूला शक्ति नेपाली कांग्रेस र नेकपा एमालेका लागि यो निर्वाचन अस्तित्व रक्षाको चुनौती बनेको छ । अघिल्लो निर्वाचनमा ५८ सिट जितेको कांग्रेस यसपटक १८ सिटमा खुम्चिएको छ, जसबाट उसले ४० सिट गुमाउनु पर्ने दुःखद अवस्था सिर्जना हुनपुग्यो । यो भन्दा ठूलो क्षति नेकपा एमालेले व्यहोरेको छ । ४४ सिटबाट ओर्लिएर एमाले मात्र ९ सिटमा सीमित भएको छ । एकीकृत भएको नेपाली कम्युनिष्ट पार्टीले पनि आफ्नो साख जोगाउन सकेन र अघिल्लो १८ सिटबाट झरेर ८ सिटमा चित्त बुझाउनु परेको छ ।
कोशी प्रदेश परिवर्तनको केन्द्रविन्दु
परम्परागत रूपमा एमाले र कांग्रेसको ‘स्ट्राङ होल्ड’ मानिने कोशी प्रदेशको नतिजा सबैभन्दा आश्चर्यजनक देखिएको छ । प्रदेशका २८ सिटमध्ये रास्वपाले १७ सिट (६० प्रतिशत) कब्जा गरेको छ । अघिल्लो निर्वाचनमा शून्य रहेको रास्वपाले यहाँ क्लिन स्वीपको अवस्था सिर्जना गर्दा एमाले र कांग्रेस समान ४–४ सिटमा समेटिएका छन् । कोशीमा ‘श्रम संस्कृति पार्टी’ले ३ सिट जित्दै नयाँ वैकल्पिक शक्तिको रूपमा उपस्थिति जनाएको छ भने राप्रपा र नेपाली कम्युनिष्ट पार्टीले यहाँका सबै पुराना सिट गुमाएका छन् ।
आयोगको तथ्याङ्क अनुसार प्रतिनिधि सभामा देशभरबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मात्र १ सिट मात्र जितेको छ भने स्वतन्त्र उम्मेदवारले पनि १ स्थानमा मात्र जित निकाल्न सकेका छन् । पछिल्लो निर्वाचन परिणामले छरिएका स्वतन्त्र व्यक्तिभन्दा पनि एउटा संगठित नयाँ शक्ति निर्माण गरी मुलुकमा राजनीतिक स्थायित्व र सुशासन स्थापनाका लागि विश्वास गरेको स्पष्ट हुन्छ । यो नतिजाले आगामी संसदमा रास्वपाको एकलौटी प्रभाव रहने निश्चित छ भने पुराना दलहरूलाई गम्भीर आत्मसमीक्षा गर्दै नयाँ रणनीति बनाएर आफ्नो गुमेको प्रभाव र विश्वास फर्काउन मिहिनेत गर्नुपर्ने अवस्था सिर्जना गरिदिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।