लोड हुँदैछ...

मेनु

आधा लाख बढी मतसहित चुनाव जित्ने यी हुन्

आधा लाख बढी मतसहित चुनाव जित्ने यी हुन्

विराटनगर । प्रतिनिधिसभा निर्वाचनको परिणाम अन्तिम चरणमा पुग्दा मुलुकको राजनीतिमा नयाँ तरंग देखिएको छ । देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६३ स्थानको नतिजा सार्वजनिक भइसकेको छ भने तीन स्थानमा गणना जारी छ ।

सार्वजनिक नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हासिल गर्दै १२४ सिटमा जित दर्ता गरेको छ र एक स्थानमा अग्रता कायम राखेको छ । यस्तै नेपाली कांग्रेसले १७, नेकपा (एमाले) ले ८ र नेकपा (कम्युनिष्ट) ले ७ सिट जितेका छन् । श्रम संस्कृति पार्टीले ३ र राप्रपाले १ सिटमा जित हासिल गरेका छन् ।

यस पटकको निर्वाचनमा सबैभन्दा रोचक पक्ष ‘आधा लाख’ (५० हजार) भन्दा बढी मत ल्याएर विजयी हुने उम्मेदवारहरूको संख्या रहेको छ । अहिलेसम्मको परिणाम अनुसार देशभरका कुल १२ जना उम्मेदवारले ५० हजारभन्दा बढी मत प्राप्त गरी सानदार जित निकालेका छन् । अचम्मको कुरा त के छ भने, यो आँकडा पार गर्ने सबै १२ जना उम्मेदवार रास्वपाकै रहेका छन् । परम्परागत दलका कुनै पनि उम्मेदवारले ५० हजारको अंक पार गर्न सकेनन् ।

कोसी प्रदेशः बालेन र इन्दिराको कीर्तिमानी जित
कोसी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये ४ वटा क्षेत्रमा रास्वपाका उम्मेदवारले ५० हजार बढी मत ल्याएका छन् ।
झापा क्षेत्र नम्बर ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सर्वाधिक ६८ हजार ३४८ मत प्राप्त गरी कीर्तिमानी जित दर्ता गरे । उनले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतको विशाल अन्तरले पराजित गरे । ओलीले जम्मा १८ हजार ७३४ मत मात्र प्राप्त गरे । यो नै हालसम्मको सबैभन्दा ठूलो मतान्तर हो ।

झापा क्षेत्र नम्बर २ मा रास्वपाकी इन्दिरा राना मगर ले ६० हजार ११० मतसहित सानदार जित हासिल गरिन् । उनले पूर्वसभामुख देवराज घिमिरेलाई ४८ हजार ७४२ मतान्तरले पछि पारिन् । घिमिरेले ११ हजार ३६८ मत पाए । इन्दिरा देशभरका महिला उम्मेदवारमध्ये सबैभन्दा बढी मत ल्याउने उम्मेदवार बनेकी छन् ।

यस्तै, मोरङ क्षेत्र नम्बर ६ मा रास्वपाकी रुविना आचार्य ले कांग्रेस नेता डा. शेखर कोइरालालाई स्तब्ध पारिन् । आचार्य ५५ हजार ५१३ मतका साथ विजयी हुँदा कोइरालाले १२ हजार ८५० मत मात्र पाए । सुनसरी क्षेत्र नम्बर २ मा रास्वपाका लाला विक्रम थापा ले ५७ हजार ३४८ मत ल्याएर कांग्रेसका राजीव कोइरालालाई पराजित गरे ।

बागमती प्रदेश : चितवनमा रास्वपाको राप
बागमती प्रदेशबाट पनि ४ जना उम्मेदवार ५० हजारभन्दा बढी मतसहित निर्वाचित भएका छन् ।
काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ बाट रास्वपाका बदन कुमार भण्डारी ५३ हजार ३४४ मत ल्याएर विजयी भए । चितवन क्षेत्र नम्बर १ मा हरि ढकाल ५८ हजार २०८ मतसहित निर्वाचित हुँदा कांग्रेसका राजेन्द्र प्रसाद वुलाईकोटीले १३ हजार ३३ मत मात्र पाए ।

चितवन क्षेत्र नम्बर २ मा रास्वपा सभापति रवि लामिछाने ले ५४ हजार ४०२ मत ल्याएर ३९ हजार ८३८ को मतान्तरले जित दर्ता गरे । त्यस्तै, चितवन क्षेत्र नम्बर ३ मा सोविता गौतम ले ५९ हजार २७७ मत प्राप्त गरिन् । उनले नेकपा उम्मेदवार एवं भरतपुरकी निवर्तमान मेयर रेणु दाहाल (२०,६१५ मत) लाई पराजित गरिन् ।

लुम्बिनी प्रदेशमा तीन जनाले ५० हजारको आँकडा पार गरेका छन् । रुपन्देही क्षेत्र नम्बर १ मा रास्वपाका सुनिल लम्साल ५४ हजार ८४५ मतसहित विजयी भए ।

रुपन्देही क्षेत्र नम्बर २ मा सुलभ खरेलले एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई भारी मतान्तरले पराजित गरे । खरेलले ५६ हजार ५५० मत ल्याउँदा पौडेलले १२ हजार ८६१ मतमा चित्त बुझाउनुप¥यो । रुपन्देही क्षेत्र नम्बर ३ मा डा. लेखजंग थापा ले ५८ हजार ८१४ मत ल्याएर सानदार जित निकाले ।

गण्डकी प्रदेशबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर १ का राजन गौतम ५० हजार ९४५ मतसहित निर्वाचित भएका छन् । उनले कांग्रेसका बालकृष्ण घिमिरेलाई पराजित गरे ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds