विराटनगर । झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह (बालेन)ले आफ्नो निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन्।
निर्वाचन अधिकृतको कार्यालयमा बुझाइएको विवरणअनुसार उनले चुनावी अभियानका क्रममा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ मात्र खर्च भएको दावी गरेका छन् ।
निर्वाचन खर्च सम्बन्धी फाराममार्फत बुझाइएको विवरणमा प्रचार–प्रसार, सवारी साधन भाडा, कार्यालय सञ्चालन तथा विभिन्न व्यवस्थापन खर्च समावेश गरिएको छ। विवरणअनुसार चुनावी अभियानका क्रममा सवारी साधन भाडामा २ लाख ९३ हजार ८०० रुपैयाँ खर्च गरिएको उल्लेख छ ।
त्यस्तै, हवाई भाडा शीर्षकमा ३५ हजार रुपैयाँ र मतदाता प्रशिक्षण कार्यक्रममा २८ हजार ९७० रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। सबैभन्दा बढी रकम भने वडा स्तरमा सञ्चालन गरिएको प्रचार कार्यक्रममा खर्च भएको देखिन्छ, जसमा ५ लाख ८० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।
यस्तै नमुना मतपत्र छपाइमा ४९ हजार ८५० रुपैयाँ, क्षेत्रीय निर्वाचन कार्यालय सञ्चालनमा १ लाख २० हजार रुपैयाँ र स्टेसनरी तथा कार्यालय व्यवस्थापनमा २२ हजार ८२० रुपैयाँ खर्च गरिएको जनाइएको छ। यस्तै, प्रचार सामग्री झण्डा र ब्याचमा १ लाख ५७ हजार र ब्यानर तथा टोकनमा १ लाख १९ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ। यसबाहेक मनोनयन दर्ता शुल्कका रूपमा १० हजार रुपैयाँ खर्च गरिएको उनको विवरणमा उल्लेख छ ।
बालेनका तर्फबाट निर्वाचन प्रतिनिधि नवीन भण्डारीले खर्च विवरण आयोगमा बुझाएका हुन् । निर्वाचनसम्बन्धी कानुनी व्यवस्थाअनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएपछि निर्धारित समयभित्र आफ्नो खर्च विवरण बुझाउनुपर्ने व्यवस्था रहेको छ।
बालेनले झापा ५ बाट भारी मतान्तरसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।